काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका–८ स्थित हालसम्म देशकै सर्वाधिक ठूलो मातातीर्थ दुई सय २० केभी सबस्टेसन तथा मर्स्याङदी–काठमाडौँ दुई सय २० केभी प्रसारण लाइनको उदघाटन गरेका छन् ।
काठमाडौं उपत्यकाको बढ्दो विद्युत् माग पूर्ति गर्न र मर्स्याङदी नदी करिडोरमा उत्पादन हुने बिजुलीलाई काठमाडौँसम्म लैजान उक्त सबस्टेसन र विद्युत् प्रसारण लाइन प्रयोग हुनेछन् । अब उत्पादन हुने विद्युत् परिमाणलाई हाल रहेको एक सय ३२ केभी क्षमताको प्रसारण लाइनले धान्न नसक्ने अवस्था छ । कूल ८३ किलोमिटर लामो काठमाडौँ(मर्स्याङदी प्रसारणलाइन तनहुँ, गोरखा चितवन र धादिङ हुँदै काठमाडौँ ल्याइएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केही वर्षयता उत्साहजनक ढङ्गले वृद्धि भएको विद्युत् उत्पादनअनुरुप आन्तरिक खपतलाई गुणात्मक ढङ्गले बढाउन र बचत भएको विद्युत्लाई निर्यात गर्न मातातीर्थ सबस्टेसन र मस्र्याङ्दी(काठमाडौँ दुई सय २० केभी प्रसारण लाइन महत्वपूर्ण पूर्वाधार भएको बताए ।
उत्पादनमा वृद्धि भए पनि हिउँदयाममा कम उत्पादनका कारण आयात गर्नुपर्नेजस्तो असन्तुलित स्थिति अन्त्य गर्न कर्णाली चिसापानी, माथिल्लो अरुणजस्तो ठूला परियोजना र दूधकोशीजस्तो जलाशययुक्त परियोजना अघि बढाइएको प्रधानमन्त्री दाहालले बताए ।
उत्पादनसँगै विद्युत्को आन्तरिक खपत बढाउन यससम्बन्धी कार्ययोजना अघि बढाइएको उनले जानकारी दिए । आगामी एकदेखि डेढ वर्षभित्र देशमा शत्प्रतिशत विद्युतीकरण गरिने उनले बताए ।
छिमेकी मुलुकहरुसँग भएको विद्युत् सम्झौताले उत्पादित विद्युत्को बजार सुनिश्चित गरेको उनको भनाइ थियो । भारत र बङ्गलादेशसँग यससम्बन्धी सम्झौतामा हस्ताक्षर भइसकेको र उत्तरमा चीनतर्फ पनि विद्युत् निर्यात गर्न चिलिमे केरुङ प्रसारण आयोजना अघि बढाइने जानकारी प्रधानमन्त्रीले दाहालले दिए ।
विश्वव्यापी मौसम परिवर्तनबाट देशको विद्युत् उत्पादन केन्द्रमा पर्न सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउने र अन्तर्राष्ट्रिय समुदायको ध्यान यससम्बन्धमा आकर्षित गर्न थालिएको उनले स्पष्ट पारे ।
“विद्युत् आयोजना निर्माणका क्रममा आउने वन र जग्गा प्राप्तिसम्बन्धी व्यवधानलाई हटाउन विद्यमान कानुनलाई विकास निर्माणको बाधक नभई साधक बनाइनेछ,” प्रधानमन्त्री दाहालले भने ।