Logo

बझाङमा एमालेका भण्डारी निर्वाचित हुँदा माधव नेपालका उम्मेदवारको जमानत जफत



काठमाडौं,१७ वैशाख । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् । मतगणना सकिँदा लाग्दा भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २६६ रहेको छ ।

भण्डारी प्रदेश सभामा निर्वाचित हुँदा सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहको भने जमानत जफत भएको छ । निर्वाचनमा कूल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था रहेको छ । सिंहले २५१३ मत ल्याएका छन् । जुन सदर मतको १० प्रतिशत भन्दा कम हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का किशोर कुमार खड्काले २४२ मत पाएका छन् ।  जनता समाजवादी पार्टी (जसपा) का उमेदवार रामबहादुर जाग्रीले ४४ मत प्राप्त गरेका छन् ।  राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापाले ३५ मत ल्याएका छन् । 

संघीय लोकतान्त्रिक राष्ट्रियमञ्च दीपबहादुर खड्काले २८, जनमतका सुशीलादेवी विष्टले २६ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खगेन्द्रबहादुर शाहीले २४ मत पाउँदा नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगरले २ मत ल्याए । 

प्रदेशसभा निर्वाचनका लागि उमेदवारले पाँचहजार रुपैयाँ निर्वाचन अधिकृतको कार्यालयमा धरौटी राख्नुपर्ने व्यवस्था ऐनमा रहेको छ । कूल सदर मतको १० प्रतिशत कटाउन नसक्ने उमेदवारको उक्त जमानत जफत हुनेछ ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot