Logo

सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसको एक सीट खोस्न सफल दमन भण्डारी को हुन् ?



काठमाडौं,१७ वैशाख । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् ।

मतगणना सकिँदा भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २६६ रहेको छ ।

तेस्रो स्थानमा माओवादीका जनक बुढा रहेका छन् । उनले ३ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् ।

भण्डारी प्रदेश सभामा निर्वाचित भएसँगै सुदूरपश्चिम प्रदेश सभामा एमालेले एक सीट थपेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक सीट गुमाएको छ । यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहको गत असार ५ गते सडक गुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो । कांग्रेसले उठाएको उम्मेदवार उनै स्वर्गीय सिंहका छोरा हुन् ।

को हुन् भण्डारी ?

२०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ भण्डारी गाउँमा जन्मिएका दमनले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका भण्डारी नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर समाज सुधारका काममा लागेका थिए ।

२०६९ मा एमालेकाे जिल्ला कमिटीकाे उनी सचिव भएका भण्डारी २०७८ मा अध्यक्ष भए। अहिले पनि भण्डारी नेकपा एमाले बझाङका अध्यक्ष हुन्।

उनका एक श्रीमती र एक छोरी छन् । उनले यसअघि बझाङमा लैङ्गिक हिंसा विरुद्ध अभियान पनि चलाएका थिए । उनलाई एमालेभित्र सबैभन्दा इमान्दार,भद्र र शालिन पात्रका रुपमा लिने गरिन्छ। उपनिर्वाचनको मुखमा उनले बुबा गुमाएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot