Logo

सुवासको ‘विरासत’ धान्दै संसद्मा सुहाङको ‘डेब्यू’



काठमाडौं,१८ वैशाख । गत शनिबार भएको इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनको मतगनणा सकिएको छ । २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम- २ बाट निर्वाचित एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेका यी स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको हो ।

इलाम २ मा मंगलबार बिहान सार्वजनिक मतगणनाको अन्तिम नतिजाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतका साथ विजयी भए । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका डम्बर बहादुर खड्काले २१ हजार ९४२ मत पाए । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ११ हजार ४५७ मत पाउँदा अन्य उम्मेदवारले भने जमानत पनि जोगाउन सकेनन् । रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भएका छन् ।

बुवा सुवासचन्द्र नेम्वाङको निधन भएपछिको रिक्त स्थानमा उनकै छोरा सुहाङले बाजी मारेका हुन् । २०७९ को निर्वाचनमा सुवासले कांग्रेसका खड्कालाई ११४ मतको झिनो अन्तरले पराजित गरेका थिए । अहिले छोरा सुहाङले फराकिलो मतान्तरमा जितेका छन् । खड्कालाई उनले ५ हजार ८३० मत अन्तरले जितेका हुन् ।

नेम्वाङको निधनपछि उपनिर्वाचन हुने तरखर भईरहँदा एमालेमा एमालेमा उम्मेदवारका आकांक्षीको लर्को देखिएको थियो । लामो समय सुवासको सहयोगी बनेर काम गरेका वुद्धि खनालदेखि एमाले इलामका प्रभावशाली नतो रवीन्द्र सुवेदी अनि स्थायी कमिटी सदस्य शिबमाया तुम्बाहाम्फेसम्मले उम्मेदवार बन्ने आकांक्षा राखेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुहाङलाई इलाम २ को उम्मेदवार छान्दा परिवारवादको आरोप लागको थियो । भने चुनावी प्रचारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रमुख एजेण्डानै यही बनाएको थियो ।

चुनावी प्रचारका लागि इलाम पुगेका महामन्त्री गगन थापा र कमाण्डर तोकिएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पटक पटक एमालेले वंशवादलाई प्रसय दिएको भन्दै चर्को भाषण गरेका थिए । थापाले त पटक पटक ‘ सूर्यमा भोट हालेर इलामले राजतन्त्र खोजको हो?’ भन्दै प्रश्न गरेका थिए । तर अझ बढी मतान्तरमा विजयी भएर सुहाङले त्यो आरोपलाई मिथ्या सावित गरेका छन् ।

एमालेका उपाध्यक्ष सुवासको गत भदौ २६ गते मृत्यु भएपछि यो क्षेत्र खाली थियो । यो क्षेत्रमा उनको विरासत उनकै छोरा सुहाङले थामेका छन् । यो क्षेत्रमा २०५६ सालदेखि सुवासले लगातार चुनाव जित्दै आएका छन् । उपनिर्वाचनमा पति तीन दशक लामो वाम विरासतलाइ जोगाउँदै सुहाङले संसद्मा डेब्यू गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot