Logo

विश्वासको मत नलिने अडानसहित कोशीका मुख्यमन्त्रीले बुझाए प्रदेश प्रमुखलाई तीन पन्ने पत्र



 काठमाडौं,१८ वैशाख । प्रष्टरुपमा अल्पमतमा परेका कोशीका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत नलिने अडान दोहोर्याएका छन् ।

मंगलबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर प्रदेश सभाबाट पारित संकल्प प्रस्तावकै आधारमा आफूले विश्वासको मत लिनुनपर्ने जिकिर गरेका हुन् । गत चैत २६ गते नेकपा एमाले र माओवादी केनद्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की अल्पमतमा परेका छन् ।

कार्कीले वैशाख २५ गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर, उनले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएको भन्दै विश्वासको मत लिनुनपर्ने अडानमा छन् । कार्कीले विश्वासको मत नलिने अडान लिएपछि गत साता एमाले र माओवादीले प्रदेश सभाको विशेष अधिवेशनमार्फत संकल्प प्रस्ताव पारित गरेका थिए ।

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक र किशोरचन्द्र दुलाल र गणेशप्रसाद उप्रेती समर्थक रहेको सो प्रस्ताव बहुमतले पारित भएको थियो । संकल्प प्रस्ताव पारित भएपछि प्रदेश सभाले कार्कीलाई विश्वासको मत लिने निर्देशन दिएको थियो । तर, कार्कीले निर्देशन नमान्ने बताउँदै आएका छन् ।

वैशाख २५ गतेसम्म विश्वासको मत नलिने उनलाई सोही दिन स्वत पदमुक्त गरेर एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको तयारी छ । सो तयारीबारे जानकारी पाएपछि कार्की आज तीन पन्ने पत्र बोकेर प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । सो पत्रमा उनले संकल्प प्रस्तावकै कारण गैर संवैधानिक काम नगर्न प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा लेखिएको छ, ‘संविधानको धारा १६८(५) को विकल्पमा १६८(२) र १६८(३) को सरकार बन्न सक्दैन । संविधानको धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांशलाई प्रदेशसभाको सङ्कल्प प्रस्तावले निस्तेज बनाउन सक्दैन । मुख्यमन्त्री पदको संवैधानिक तवरबाट रिक्त नभएसम्म अर्को मुख्यमन्त्री चयन हुन सक्दैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot