Logo

समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक: महामन्त्री शर्मा



झापा, १८ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको चाहनाअनुरुप आर्थिक समृद्धि हासिल गर्न तीन तहको सरकार मिलेर अघि बढ्नुपर्ने बताएका छन् । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २८औं साधारणसभाको आज उद्घाटन गर्दै उनले विकास निर्माणको कार्यमा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच तालमेल हुनुपर्नेमा जोड दिएका हुन् ।

मुलुकमा विकास नभएको भनेर व्यवस्थाविरुद्ध नकारात्मक भ्रम छर्ने प्रयास भइरहेको जनाउँदै उनले जनप्रतिनिधिहरुले त्यसलाई चिर्दै राजनीतिक आस्थाको आधारमा कसैप्रति विभेद गर्न नहुने बताए ।
“म महामन्त्रीको रुपमा कांग्रेस हुँ, तर सांसदको रुपमा सबै पार्टीमा आस्था राख्नेको साझा प्रतिनिधि हुँ”, आफैँलाई उदाहरण दिँदै उनले भने, “जनप्रतिनिधि भएर काम गर्दा राजनीतिक आस्थाको कुरा हेर्दिन । को कुन पार्टीको हो भनेर विभेद कहिल्यै गरेको छैन ।”

जनताले आम चुनावमार्फत सिंहदरबारको ढोका ढक्ढक्याउन पठाएको उल्लेख गर्दै उनले जनताका समस्याको समाधान र विकास निर्माणका कार्यका लागि आफुले सदन र सरकारलाई निरन्तर सचेत गराइरहेको बताए । महामन्त्री शर्माले काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्न सुझाव दिए । ‘प्रविधिप्रति अविश्वास गर्नुहुँदैन, भोटिङ मेसिन प्रयोग गर्दा आम उपभोक्ताको सल्लाह र सहमति लिनुहोस्,’– उनले भने ।

दुई पूर्वनगर प्रमुख सम्मानित

कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्वनगर प्रमुखद्वय रवीन कोइराला र विमल आचार्यलाई यस क्षेत्रको सामाजिक तथा राजनीतिक विकासमा पुर्याएको योगदानका लािग सम्मान गरिएको थियो । उहाँहरुलाई सङ्घीय सांसद विश्वप्रकाश शर्माले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । पूर्वनगर प्रमुखद्वय कोइराला र आचार्यले काँकडभिट्टा खानेपानीको स्थापना र विस्तारमा ठूलो योगदान पुर्याउनुभएको संस्थाका अध्यक्ष राजकुमार पराजुलीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot