Logo

कांग्रेसको निश्कर्षः माओवादीले एमालेलाई साथ दिँदा र पहिचानवादीले भोट काट्दा इलाम–२ मा हार्नुपर्यो



काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा.प्रकाशशरण महतले इलाम–२ मा एमालेलाई माओवादीको पनि समर्थन र पहिचानवादी उम्मेदवारले मत काट्दा निर्वाचन हार्नुपरेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । साथै, एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई केही सिम्प्याथी मत प्राप्त हुँदा पनि आफूहरुलाई जित हासिल गर्न गाह्रो भएको बताए ।

इलाममा लामो समयदेखि कांग्रेसले जित हासिल गर्न नसकेको स्मरण गराउँदै उनले यसपाला एक्लै चुनाव लडेपनि सम्मानजनक मत आएको दाबी गरे ।

‘इलाममा अहिले माओवादीको समर्थन पनि एमालेलाई रह्यो । त्यहाँ अरु पहिचानवादीहरुको पनि उपस्थिति रह्यो । त्यसले गर्दा मत प्याट्रनमा केही प्रभाव पर्यो । तथापि हामीले एक्लै इलाममा लड्यौं । एमाले–माओवादी एक ठाउँमा उभिए । त्यो अवस्थामा एमालेको विजय भयो । त्यसका केही सिम्प्याथी भोट पनि एमालेका उम्मेदवारले प्राप्त गरे । पहिचानवादी उम्मेदवारबाट हाम्रो मत त्यता पनि गएको हुनसक्छ,’– उनले भने ।

साथै, नेपाली राजनीतिको महत्वपूर्ण दल एमाले र कांग्रेस नै रहेको उनको दाबी छ । उनले नयाँ दलहरु धेरै नाटकबाजी गर्ने भनेर जनताले भेउ पाइसकेको उनको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उत्तल दलले पाएको मतलाई ‘भेल’ को संज्ञा दिए । अब उक्त भेल विस्तारै सुक्दै जान थालेको उनको भनाइ छ । उनले भने,‘नयाँ दलहरु जुन आएका थिए, धेरै प्रचारवाजी गरेर, कुरा गर्ने, धेरै नाटकवाजी गर्ने, सर्कस गर्ने भनेर अहिले जनताले भेउ पाइसके । त्यो सानो भेल थियो । अब त्यो सुक्यो । सुक्दै गएको अवस्था हो । मूल प्रतिस्पर्धी दल भनेको एमाले र कांग्रेस नै हो ।’



प्रतिक्रिया दिनुहोस्