Logo

इलाम-२ मा रास्वपालाई भगवानले दण्ड दिएः सुन्दरमणि दीक्षित



काठमाडौं, १९ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले उपनिर्वाचनले सही परिणाम दिएको बताएका छन् । आज (बुधार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपनिर्वाचनमा सुहाङले जित्नु इलाम र देशकै लागी पनि राम्रो रहेको बताए ।

साथै, उनले उपनिर्वाचनको परिणामले कांग्रेसलाई गतिलो झापड दिएको र राष्ट्रिय स्वतन्त्र पार्टीलाई भने भगवानले दण्ड दिएको टिप्पणी गरे । एमालेकै भनसुनबाट त्यहाँ पुगेको रास्वपाले सुहाङको विरुद्धमा उम्मेदवारी दिनु नै गलत भएको उनको दाबी छ । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई म त भन्छु भगवानले दण्ड दिएको हो । आफू उपप्रधानमन्त्री बन्न पाउने, चार वटा अर्को मन्त्री लिने, गृहमन्त्री आफू हुने, त्यो त हैसियत थिएन नि रवि लामिछानेको । एमालेको बलले, एमालेको भनसुनबाट यिनीहरु पुगेका हुन् त्यहाँ । प्रचण्डले त दिनेवाला थिएनन् । सुवास नेम्वाङको छोराको विरुद्धमा उठ्न हुन्थ्यो । यो त अधर्मी र अनैतिक कुरा भएको थियो ।’

साथै, रास्वपाका सभापति रवि लामिछानेमाथि ठूलो दाग लागेको उनको भनाइ छ । लामिछानेले आफूमाथि लागेको दाग मेटाउने कुनै कोशिस नगरेको र संसद् पनि फेस नगरेको उनको टिप्पणी छ । लामिछानेका कारण सरकारमा गएर राम्रा काम गरिरहेका शिक्षामन्त्री र खेलकुदमन्त्रीलाई समेत धक्का लाग्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot