Logo

गृहमन्त्री लामिछानेको बचाउमा माओवादी महासचिव गुरुङ, राजीनामा नआउने



काठमाडौं, २० वैशाख । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनु नपर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि न्यायिक रुपमा प्रश्न नउठेकाले अहिले राजीनामा आवश्यक नरहेको बताएका हुन् ।

‘रास्वपाका रवि लामिछाने अथवा गृहमन्त्रीको सन्दर्भमा न्यायिक रुपले केही उठेको जस्तो लाग्दैन । किनभने राज्यका अंगहरुले छानविन गर्दैमा न्यायिक रुपले प्रक्रिया अगाडि नबढ्दासम्म राजीनामा दिनुपर्ने भन्ने देखिँदैन,’– उनले भने ।

साथै, गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ । महासचिव गुरुङले लामिछानेको जोडिएको विवादमा समिति बनाएर छानविन गर्नुपर्ने आवश्यकता नरहेको दाबी गरे । उनले राज्यका अंगले गरेको छानविनको प्रतिवेदन चित्त नबुझेमा मात्रै उक्त प्रक्रियामा जान सकिने बताए ।

‘जहाँसम्म संसदीय समितिको छानविनको कुरा हो । राज्यका अंगहरुले गरेको छानविनको प्रतिवेदनबाट चित्त बु्झेन भने त्यो अवस्थामा पुनरावलोकनको सन्दर्भमा संसदीय छानविन समिति बन्ने हो ।’ उनले भने, ‘त्यो त विशुद्ध क्षेत्राधिकार संसद्भित्र हुनुपर्यो । राज्यका अन्य निकायले छानविन गर्न नमिल्ने विषय हुनुपर्यो । क्षेत्राधिकार भएको विषयमा छानविन समिति बन्नसक्छ । अहिले जे कुरा उठिरहेको छ, त्यो त राज्यको अंगले गरिरहेको छ ।’

साथै, वर्तमान सत्ता समीकरण पूरै अवधि चल्ने उनको दाबी छ । त्रिशंखु संसद्का कारण सरकार बनाउने र गिराउने खेल भइरहने भएपनि वर्तमान सरकार पूरै अवधि अगाडि जाने बताए । ‘त्रिशंखु संसद्का कारण त्यस्तो खेलहरु चलिरहने प्रवृत्ति देखिएको भएता पनि अहिले त्यस्तो संकट छ भन्ने मलाई लाग्दैन,’– महासचिव गुरुङले भने ।

वर्तमान सरकारका मुख्य एजेण्डा राष्ट्रिय स्वाधीनताको रक्षा, डेमोक्रेशीको रक्षा, सुशासन र सामाजिक न्यायसहितको आर्थिक समृद्धि रहेको उनले बताए । यी मुद्दाहरुमा एकीकृत समाजवादीको कुनै विमती र विचलन नदेखिएकाले सरकारबाट ब्याक नहुनेमा आफूहरु ढुक्क रहेको बताए ।

‘नीति कार्यक्रममा र अहिले उठाइएको एजेण्डाहरुमा प्रतिवद्ध भएर नै लागिरहनु भएको देखिन्छ । उहाँहरु (एकीकृत समाजवादी) ले सरकार छोड्नुहोला, सरकारबाट ब्याक हुनुहोला जस्तो त लाग्दैन ।’ उनले भने, ‘बाहिरफेर जे जस्ता अभिव्यक्ति दिनुभएको भएता पनि विचार र नीतिका हिसाबले पनि ब्याक हुने सम्भावना कमै देख्छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot