काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साहले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाइ जारी छ ।
निर्वाचन आयोगले मेयर पदबाट पदमुक्त गरेपछि साह सर्वोच्चमा पुगेकी हुन् । उनको रिट निवेदन सर्वोच्चका न्यायाधीशत्रय विनोद शर्मा अव्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गाना सम्मिलित पूर्ण इजलासमा भईरहेको छ ।
यसअघि मेयर साहको मुद्दामा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उनलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो ।
साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी श्रीमती हुन् । पहिलो स्थानीय चुनावमा माओवादीबाट मेयर जितेकी उनी नेकपा कम्युनिस्ट पार्टी (नेकपा) हुँदै एमालेमा पुगिन् । २०७९ को स्थानीय निर्वाचनमा साह एमालेबाट मौलापुरको मेयर निर्वाचित भइन् । तर मंसिर २०७९ को निर्वाचनको उम्मेदवारी दर्ताको दिन प्रभु साहले एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिए ।
स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका प्रतिनिधिसभा सदस्य साहले अहिले आम जनता पार्टीको अध्यक्ष छन् । पछिल्लो पटक एमालेले मेयर साहले दल त्याग गरेकाले पद स्वतः रिक्त हुने भनेर निर्वाचन आयोगमा पत्रचार गर्यो ।
आयोगले असोज २९ साह पदमुक्त भएको सूचना जारी गर्यो । तर आफूले दल त्याग नगरेकाले निर्वाचन आयोगको सूचना संविधान र कानुन विपरित भएको दाबी गर्दै साह अदालत गइन् ।