काठमाडौं, २० वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढङ्गको विकासको अभ्यास गर्न लागिपरेको बताएका छन् । झापाको शिवसताक्षी नगरपालिका–६ वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन तथा जग्गादातालाई सम्मान गर्दै उनले कोशी प्रदेश सरकार विकासका काममा अग्रसर भएको बताएका हुन् ।
भौतिक पूर्वाधारको विकासलाई मात्रै विकास ठान्ने परिपाटीले समाजमा समस्या उत्पन्न भएको मुख्यमन्त्री कार्कीले बताए । ‘मानवीय संवेदना र सामाजिक मूल्य मान्यतासहितको विकासमा हामी निकै पछिपरेका छौं । यसतर्फ प्रदेश सरकार गम्भीर छ,’– उनले भने ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सुरु गरेको बालबालिकाको निःशुल्क उपचारसम्बन्धी कार्यक्रम प्रभावकारी बन्दै गएको बताए । उनले भने, ‘हरेक पालिकामा दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक विषयको पढाइमा अनुदान दिने कार्यक्रम अघि बढाएका छौं । हात्ती प्रभावित क्षेत्रमा लगाइने कृषि बालीको बीमा गरेका छौँ, यसका लागि थप बजेट ल्याउने प्रदेश सरकारको तयारी छ ।’
कागजी दस्तावेज मिलाएर त्यसैका आधारमा सरकारको अनुदान दुरुपयोग गर्ने अभ्यासले समग्र व्यवस्थाप्रतिनै निराशा पैदा गराइरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भ्रष्टाचारमा सहयोग पुग्ने खालका कार्यक्रमलाई प्रदेश सरकारले निस्तेज गर्ने बताए । सो अवसरमा उनले वडा कार्यालयका लागि जग्गादान गर्नुहुने जग्गादाता सुरज राजवंशी, दुर्गाप्रसाद गुरागाईँ, चन्द्रमणि पौडेल र देवनारायण भण्डारीलाई सम्मान गरे ।
दाताहरूले संयुक्तरूपमा ११ कठ्ठा जमिन निःशुल्क उपलव्ध गराएका छन् । वडा कार्यालय लामोसमयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । वडाले आफ्नै भवन तयार गरेपछि दैनिक कार्यसञ्चालनमा सेवाग्राहीलाई सुविधा पुग्ने शिवसताक्षी–६ का वडाध्यक्ष मनोज खुलालले बताए । कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, कांग्रेस झापाका सभापति देउकुमार थेवेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।