काठमाडौं,२० वैशाख । सिधाकुरा टिमले सार्वजनिक गरेको द डार्क सर्कल अन्तर्गतको सामाग्रीबारे सर्वोच्चले आज सिधा कुराको टिमसँग बयान लिएको छ । बयानका लागि सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा पेशी तोकिएको थियो । तर, आज बयान नसकिएपछि उक्त मिडियाका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुङ्गाना साधारण तारेखमा छुटेका छन् । सिधाकुरा टिमका तर्फबाट बहसका लागि उपस्थित भएका अधिवक्ता स्वागत नेपालले आज बयान नसकिएको बताए । बयान नसकिँदा यस्ता प्रकारका मुद्दामा हिरासतमा पठाउने अभ्यास रहेको भएपनि कँडेल र ढुङ्गाना साधारण तारेखमा छुटेको बताए ।
‘आज बयान सकिएन । सुनुवाइ निरन्तर हुने भएको छ । एक जनालाई बोलाउने आदेश पनि भएको छ । छोड्ने कि राख्ने भन्ने निर्णय नहुन्जेलसम्मका लागि सामान्यतः हिरासतमा पठाउने गरिएको थियो । तर, यसमा चाहीँ साधारण तारेखमा राख्ने भन्ने छ,’– रिपोर्टर्स नेपालसँग कुराकानी गर्दै अधिवक्ता नेपालले भने ।
‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशितरप्रसारित सामग्रीविरुद्ध सर्वोचचका उपरजिष्टार गोविन्द्रप्रसाद घिमिरेले प्रतिवेदन उठाएर सर्वोच्च निवेदन दिएका थिए । यसअघि सर्वोच्चको आदेशअनुसार सिधाकुराले ‘द डार्क फाइल’ शृंखलाअन्तर्गत प्रकाशित/प्रसारित विवादित सामग्री हटाउन आदेश दिएको थियो ।
सामाजिक सञ्जालबाट शृङ्खलाबद्ध रूपमा अपलोड गरी प्रसारित ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’समेतका शीर्षक राखी प्रसारित सामग्री कपोलकल्पित भ्रामक तथा नियोजित भएको दाबी निवेदनमा गरिएको छ ।
अधिवक्ता नेपाल भने मिडियाले उठाएको कुराको सत्यतालाई लिएर अदालतले अपहेलनाको मुद्दा चलाउनु प्रेस स्वतन्त्रताको विरुद्धमा रहेको बताउँछन् । मिडियामा आएको समाचारमा संलग्न रहेका भनिएका मानिसहरुमाथि पहिला छानविन हुनुपर्नेमा प्रमाण ढाकछोप गर्न यस्तो गरिएको उनको दाबी छ ।
‘प्रेस स्वतन्त्रताको विरुद्धमा अदालतले संविधानमाथि प्रहार भएको छ । यो सामान्य हिसाबले मिडियाले उठाएको विषयको सत्यताको बारेमा सर्वोच्च अदालतले अपहेलनाको मुद्दा चलाएर छानविन गर्ने होईन । मिडियामा ज–जसको नाम आएको थियो, पहिला उनीहरुमाथि छानविन हुनुपथ्र्यो,’– अधिवक्ता नेपालले भने ।