Logo

धेरै वटा कम्पनीको पार्टपुर्जा जोडेर बनेको सरकार समयमै गन्तव्यमा पुग्न सकेनः सुदन किराती



काठमाडौं, २१ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले वर्तमान सरकार धेरै वटा कम्पनीको पार्टपुर्जा जोडेर अगाडि बढेको गाडीजस्तो भएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार निर्धारित समयमा गन्तब्यमा पुग्न नसकेको बताए ।

‘धेरै वटा कम्पनीको पार्टपुर्जा जोडेर अगाडि बढ्ने गाडीले सोचेको समयमा गन्तब्यमा पुग्न नसक्नु त्यो स्वभाविक हो । त्यसले कहिले–कहिले बाटोमा धोका पनि दिन्छ । त्यही भएको हो । तर, पनि कोशिस त सरकारको तर्फबाट भइरहेको छ,’– उनले भने ।

पूर्वमन्त्री किरातीले यतिखेर जनताले बढीभन्दा बढी परिणाम खोजेपनि मिलिजुली सरकारका कारण प्रधानमन्त्रीले चाहेपनि समाधान हुन नसकेको बताए । वर्तमान सरकारमा दिनदिनै समस्याहरु सिर्जना भइरहेको उनको ठम्याइँ छ । पूर्वमन्त्री किरातीले नेपालको राजनीतिक एकदमै कमजोर धरातलमा अडिएको टिप्पणी गरे ।

नेपालको संविधानले निर्देशित गरेअनुसार प्राप्त जनमतको म्याण्डेटको कारण सरकार अस्थिर बनेको उनको दाबी छ । उनले एउटा दलले मात्रै बहुमत ल्याउने सक्ने प्रावधान नभएको अवस्थामा निर्वाचन प्रणालीमाथि नै पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot