काठमाडौं । पछिल्ला केही बर्ष यता बाँदर आतंकका कारण पहाडी जिल्लाका ग्रामीण बस्ति बसाँईसराइले रित्तिदै गएको छ ।
बनजङ्गल छाडेर घर करेसामा बाँदरका हुल आउन थालेपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकामा गत बर्ष मात्रै ८१ घर परिवारले आफ्नो थाकथलो छाडेका थिए । यो बर्ष मात्रै पनि २० घर परिवारले गाउँ छाडेर मधेसमा बसाई सरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राई निर्माणले बताए ।
त्यस्तै आमचोक गाउँपालिकामा समेत बाँदरको पिडा सहन नसकेर धेरै स्थानिय बसाँई सर्न बाध्य भएको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । यि दुई गाउँपालिकामा मात्रै हैन सिंगो भोजपुर जिल्ला नै यतिबेला बाँदर आतंकले प्रताडित बनेका छन् । बाँदर नियन्त्रण नगर्ने हो भने अर्को निर्वाचन सम्म मतदाता नै गाउँमा नहुने पौवादुङमा गाउँपालिका ४ सानोदुङ्माका स्थानिय मौसम राईले बताए । बाँदरले किसानले बर्षभरी दुख गरेर लगाएको अन्न बाली खाने मात्रै नगरेर नष्ट गर्न थालेपछि हैरानी खेप्नु परेको छ ।
बाँदर धपाउन पूर्वमन्त्री किरातीको अभियान
यता बाँदर अतंक खप्न नसकेर जनताले बर्षौ देखीको आफ्नो थाकथलो नै छाड्न थालेपछि पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती भने अहिले बाँदर धपाउने अभियानमा छन् ।
भोजपुर जिल्लाका संघिय सांसद समेत रहेका किरातीले विहिबारबाट भोजपुरको रामप्रसादराई गाउँपालिका २ भुल्केमा बाँदर धपाउने अभियाननै चलाएका हुन् । अघिल्लो पटक संघीय सांसद रहँदा संसदमा बाँदर आतंक नियन्त्रणबारे पहिलो पटक आवाज उठाउँदा किरातीले ट्रोल समेत बन्नुपरेको थियो ।
तर, बाँदर आतंक दिनानुदिन बढ्दै गएपछि अहिले भने धपाउनका लागि अभियाननै चलाइरहेका छन् । यसबारे मन्त्री किरातीलाई पत्रकारहरुले प्रश्न गर्दा उनले भने “पहिले बाँदर जङ्गलमा बस्थ्यो तर अहिले घुरेनमा नै बस्न थालेको छ । बाँदर आतंकले गाउँनै रित्तिने स्थिति आएपछि बाँदरलाई धपाएर उनकै ठाउँ अर्थात घना जङ्गल सम्म पुराउने अभियानमा हामी छौँ ’उनले भने ‘बन्यजन्तु ऐन २०२९ को नेमावली १० को खण्ड ख अनुसार मानव वस्तिमा पसेर मानिस र घरपालुवा पशुलाई दुःख दिने जङ्गली जनवार मार्न पाइने ऐन रहेतापनि पछिल्लो समय बाँदर आतङ्कले मानिस पहाडबाट बर्षेनी बसाई सर्ने क्रम रोकिएन । अघिल्लो पटक आफु सांसद हुँदाबाट नै सदनमा बाँदर नियन्त्रण बारे कुरा उठाएपनि सरकारले बाँदर नियन्त्रणका लागि चासो देखाएपनि त्यो प्रभावकारी हुन सकेन’ ।
आफ्नो मतादातालाई बाँदर आतंकले प्रताडित गरेको प्रतिनिधिले मुकदर्शक भएर बस्न नमिल्ने किरातीको भनाइ छ ‘ त्यही भएर बाँदरलाई उन्कै थाकथलो अर्थात घना जङ्गलतर्फ फर्काउन म आफै अभियानमा छु ’। किरातीको अभियानमा रामप्रसाद राई गाउँपालिका वडा १ ओख्रे वडा नं २ धोद्लेखानी वडा नं ३ भुल्के र वडा नं ४ दलगाउँका गरी सयौँ मानिसको उपस्थिति रहेको छ । आफुले मत हालेर निर्वाचित जनप्रतिनिधि त्यसमा पनि पूर्व मन्त्रीनै बाँदर धपाउने अभियानको कमण्डार रहेकोले जनताको उत्सहजनक उपस्थिति रहेको स्थानिय रामप्रसाद राई गाउँपालिका २ का डिकमान राईले बताए ।
मुलत बाँदर नियन्त्रणका लागि निति निर्माणनै आफ्नो पहिलो प्राथामिकता रहेको किरातीले बताए । तर अहिले तत्कालका लागि अभियान चलाएर बाँदरलाई घर घुरेन र नजिकको जङ्गलबाट टाढा घन जङ्गलमा पुराउदा पनि त्यही बाँदरको समुह भने फेरी गाउँ नफर्कीने अध्यायनले देखाएरकोले राहत हुने किरातीको भनाइ छ ।