Logo

मुख्यमन्त्रीलाई विश्वासको मत नदिन २ मन्त्रीलाई रेशम पक्षको उर्दी, एमाले आफ्नै अडानमा, माओवादी अलमलमा



काठमाडौं,२१ वैशाख । आज विश्वासको मत लिन लागेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले ह्वीप जारी गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् । नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन् ।

बिहान आफ्ना पक्षका सांसदलाई ह्वीप जारी गरेका डँगौराले फेरि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापाको नाममा ह्विप जारी गरेका छन् । उनले पार्टी केन्द्रको निर्देशन भन्दै विश्वासको मत नदिन ह्वीप लगाएका हुन् ।

मुख्यमन्त्री सोडारीले आज बिश्वासको मत लिने तयारी गरेपनि संसद् बस्ने विषय भने अझै अनिश्चित छ ।आज बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको थियो ।

तर अहिलेसम्म पनि बैठक बस्न सकिरहेको छैन । एमालेले आज विश्वासको मत नदिने तयारी गरेपछि आज प्रदेश सभा बैठक नै नबस्न सक्ने बताइएको छ ।

एमालेले तत्काल सोडारीलाई विश्वासको मत नदिने अडान लिएको छ । हालै भएको बझाङ उपनिर्वाचनमा एमालेका उम्मेदवार हराउने गरी एकीकृत समाजवादी लागेको एमालेको आरोप छ । सोडारी एकीकृत समाजवादीका सांसद हुन् । एकीकृत समाजवादीको असहयोगका बावजुद पनि एमालेले उपनिर्वाचन भने जितेको थियो ।

यता एमालेको अडान र नाउपाको रडाकोलाई नजिकबाट नियालिरहेको माओवादीले पनि विश्वासको मतबारे निर्णय गर्न सकेको छैन् । विश्वासको मतको लागि आज साँझ बोलाएको प्रदेशसभा बैठक बस्ने सत्तारुढ दलभित्रै अनिश्चिय देखिएपछि माओवादी केन्द्र मलमलमा परेको हो ।

माओवादीले निर्णय गर्न भन्दै बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाएको थियो । सो बैठक अहिले पनि बस्न सकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्