काठमाडौं, २१ वैशाख । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाली प्रेस निर्धक्क प्रेस स्वतन्त्रताको अभ्यास गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् । आज (शुक्रबार) विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालमा प्रेसमाथिको आक्रमणको घटना निरन्तर घटिरहेको बताएका हुन् । उनले यस्ता प्रकारको समस्या समाधानका लागि पत्रकारमात्रैले नभएर सिंगो नागरिक समाज र प्रेस स्वतन्त्रताका पक्षधरहरुले बलियो ढंगले आवाज मुखरित गर्न आवश्यक रहेको उनले बताए ।
पछिल्लो समय राज्य संयन्त्रले अभिव्यक्ति स्वतन्त्रतामाथि निरन्तर प्रहार गरिरहेको उनको भनाइ छ । उनले भने, ‘पछिल्लो समयमा कार्यपालिकाले सर्कुलर जारी गरेर भन्यो, सीडीओ कार्यालय र पुलिस अफिसमा मनिटरिङ डेस्क खडा गरेर पत्रकारले लेखेका समाचारको निगरानी गर भनेर भन्यो । यो कुनै पनि लोकतान्त्रिक समाजमा सुहाउने कुरा थिएन । यसको हामी सबैले प्रतिवाद गर्यौ । पत्रकार महासंघले प्रतिवाद गर्यो र त्यो एक घण्टा पनि टिक्ने सकेन । राज्यले एक घण्टा पनि टिक्न नसक्ने गरी प्रेसमाथि आक्रमण गर्ने बाटो पर्खिराखेको छ । न्यायपालिकाले अस्ति भर्खरै एउटा आदेश दियो । त्यो आदेशलाई हामीले प्रेस स्वतन्त्रतामाथि निरन्तर प्रहार गर्ने ढोका खोल्ने बहाना हुनसक्छ भनेर हामीले विमती जनाएका छौं । सम्मानित सर्वोच्च अदालतले नेपालमा प्रेस स्वतन्त्रताको निर्वाध उपभोग गर्न पाउने, सम्पादकीय स्वतन्त्रताको निर्वाध उपभोग गर्न पाउने वातावरणको सनिश्चितता गर्छ भन्ने विश्वास अहिले पनि कायम छ । तर, समाचार सामाग्रीलाई फौजदारी कसुर मानेर अनुसन्धान गर्न प्रहरीलाई लेखि पठाउने, समाचार सामाग्री हटाउन पठाउने, समाचार प्रकाशन गर्न पूर्व प्रतिबन्ध लगाउने कुरा संविधानको बर्खिलापमा छ । समाचारको पूर्व प्रतिबन्ध लागाउने कुरालाई ठाडै अस्वीकार गरेको छ ।’
राज्यका अंगहरु प्रेस स्वतन्त्रताप्रति अनुदार रहेका उनको दाबी छ । राज्य जति अनुदार रहेपनि पत्रकारहरुले उच्च मनोबलका साथ आफ्नो मर्यादा, दायित्व र आचारसंहितालाई फलो गरेर समाज अपेक्षित पत्रकारिता गर्न अग्रसर हुन उनले आग्रह गरे ।