Logo

कार्यकर्ताबाट पैसा उठाएर पार्टी मुख्यालय बनाउँदै एमाले, श्रेष्ठले दिए ५ लाख



काठमाडौं,२१ वैशाख । ०७२ सालको विनासकारी भूकम्पले पार्टी मुख्यालयमा क्षति पुगेपछि भाडाको घरमा बस्दै आएको नेकपा एमाले अब भने आफ्नै भवन निर्माणमा जुट्ने भएको छ ।

एमालेको गत फागुन अन्तिम साता बसेको सचिवालय बैठकले संगठित सदस्यबाट चन्दा उठाउने निर्णय गरेको थियो । सचिवालय बैठकले प्रत्येक सदस्यबाट कमितमा १ सय रुपैया उठाएर नयाँ भवन निर्माण गर्ने निर्णय गरेको थियो । यसैबीच एमालेको पार्टी मुख्यालय निर्माणका लागि पार्टीका नेता तथा पूर्व केनद्रीय सदस्य रुपनारायण श्रेष्ठले ५ लाख सहयोग गरेका छन् ।

बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा पुगेर श्रेष्ठ परिवारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सो रकम हस्तान्तरण गरेका हुन् । श्रेष्ठ गत आम निर्वाचनमा काठमाडौं १ बाट टिकटका लागि सिफारिसमा परेका थिए । तर, टिकट भने पाउन सकेनन् ।

२०७२ सालको भूकम्पले बल्खुमा रहेको पार्टी मुख्यालय क्षतिग्रस्त तुल्याएपछि एमाले भाडाको घरमा बस्दै आएको छ। यसअघि एमाले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा बसेको थियो।

सरकारले प्रतिष्ठानलाई भोगाधिकार दिएको जग्गा एमालेलाई भाडामा लगाइएको भन्दै विरोध भएपछि त्यहाँबाट थापाथली हाइट सरेको थियो।

एमाले केन्द्रीय कार्यालय त्यहाँबाट पनि सारेर २०७९ वैशाख ९ गते ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पुर्‍याइएको हो। तुलसीलाल स्मृति प्रतिष्ठानको भवन एमालेले पाँच वर्षका लागि भाडामा लिएको हो।

अब कुन ठाउँमा भवन बनाउने भन्ने तय भइनसकेको एमालेले जनाएको छ । बल्खुमा बनाउने कि, अन्यत्र जग्गा खोजेर बनाउने भन्ने तय भएको छैन। बल्खुको भवन एमालेले २०५१ सालमा बनाएको हो।



प्रतिक्रिया दिनुहोस्