काठमाडौं, २१ वैशाख । आज विश्व प्रेस स्वतन्त्रता दिवस । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सरोकारवाला निकायलाई बोलाएर रिपोर्टर्स क्लब नेपालले साक्षत्कार कार्यक्रम सम्पन्न गरेको छ । क्लबले आयोजना गरेको उक्त साक्षत्कारमा अधिवक्ता स्वागत नेपाल, राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलगायतको उपस्थिति रहेको थियो ।
रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष पत्रकार ऋषि धमलाले श्रमको सम्मान हुन नसकेको र श्रमजीवी पत्रकारहरुलाई बाँच्न गाह्रो रहेको बताए । उनले आफू श्रमजीवी पत्रकारहरुको हकअधिकारका लागि सधैं साथमा रहने पनि प्रतिवद्धता व्यक्त गरे । ‘पत्रकारहरु सुरक्षित रहनुपर्छ । निर्भिक भएर समाचार सम्प्रेषण गर्न पाउनुपर्छ । हामी सबै एक हुनुपर्छ । हाम्रो एकता नै आजको आवश्यकत्ता हो । कुशासनलाई हामीले निमिट्यान्न पार्नुपर्छ,’– उनले भने ।