Logo

राजेन्द्र श्रेष्ठको स्पष्टोक्तिः उप्रेन्द्रजीसँग वैचारिक विमती होईन, कार्यशैलीका कारण पार्टी फुट्यो (भिडिओसहित)



काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले उपेन्द्र यादवको कार्यशैलीका कारण पार्टी विभाजन भएको बताएका छन् । जनता समाजवादी पार्टी नेपाल विघटन गरेर जनता समाजवादी पार्टी गठनपछि हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वैचारिक रुपमा उपेन्द्र यादवसँग कुनै विमती नरहेपनि नीतिसंगत र विधानसंगत पार्टी नचलाउँदा दल विभाजन गर्नुपरेको बताएका हुन् ।

‘हाम्रो पार्टी लोकतान्त्रिक अकेन्द्रीकरणको मान्यतामा चल्छ । लोकतान्त्रिक अकेन्द्रीकरण भन्नाले विचारमा स्वतन्त्रता हुन्छ, तर कार्यान्वयनमा एकरुपता हुनुपर्छ । विधानले पावर शेयरिङ गरेको छ । केन्द्रीय समिति, प्रदेशको, स्थानीय तहको । अध्यक्ष भएको छ भन्दैमा प्रदेशलाई पनि हस्तक्षेप गर्ने, प्रदेशलाई विघटन गर्दिने, स्थानीय तहमा पनि यस्तै हुँदा धेरै गुनासो आइराख्थ्यो । उहाँसँग वैचारिक रुपमा मेरो केही विमति छैन । उहाँको कार्यशैलीमा समस्या छ । निर्णयहरुमा मनलागी छ,’– उनले भने ।

पार्टीलाई एकतावद्ध बनाउने मुख्य दायित्व नेतृत्वको भएपनि त्यसलाई उपेन्द्रले ध्यान नदिएको उनको आरोप छ । आफूहरुसँग उपेन्द्रलेपटक–पटक कुराकानी, सहकार्य, सहमती र सम्झौता गरेपनि कार्यान्वयन नभएको उनको भनाइ छ । उनले उपेन्द्र यादवले पार्टीमा द्वन्द्व आउँदा समाधानको बाटो नखोजेर भागीभागी हिँडेको उनको आरोप छ ।

साथै, उक्त पार्टी धेरै ध्रुवीकरणको प्रक्रियामा निर्माण भएको स्मरण गराउँदै उनले आफूले उपेन्द्रसँग सबैभन्दा लामो सहयात्रा गरेको बताए । उपेन्द्रकै कारण बाबुराम भट्टराईले जसपा छाडेको उनको टिप्पणी छ । उपेन्द्रका कारणले जति पार्टीलाई जति हानी नोक्सानी भएको भएपनि उनले कहिले पनि आत्मसमीक्षा नगरेको उनको आरोप छ । साथै, आफूले छ महिना पहिला नै नेतृत्व नसच्चिएको खण्डमा सहयात्रा लामो जाँदैन भनेर जानकारी दिँदा पनि उपेन्द्र सच्चिन नचाहेको उनको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्