काठमाडौं, २४ वैशाख । राजनीतिक विश्लेषक डम्बर खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी, नेपाल विभाजन गराएको आरोप लगाएका छन् ।
हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । साथै, उनले ओली–प्रचण्डले छिट्टै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पनि फुटाउने उनको दाबी छ । उनले माधव नेपाल र उपेन्द्र यादवलाई ओली–प्रचण्डले जोकर बनाउन खोजेको टिप्पणी गरे ।
‘अहिलेको सत्ता गठबन्धनले उपेन्द्र यादव र माधव नेपालविना पनि बहुमत होल्ड गर्ने, यी दुई वटा नेताले निहुँ खोजे भने उनीहरुलाई निकाल्दिएर बुहमत होल्ड गर्ने भन्ने ओली–प्रचण्डको योजना हुनसक्छ । यो घटनाको साइड इफेक्ट के हुन्छ त भन्दा अब १०÷१५ दिनभित्रै माधव नेपालको पार्टी पनि फुटिहाल्छ । त्यसपछि उपेन्द्र र माधव नेपाल जोकर हुन्छन्,’– उनले भने ।