Logo

प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्दै सभामुख, देउवा र लिङ्देनलाई बोलाउँदा माधवलाई गरिएन निम्ता



काठमाडौं,२४ वैशाख । सभामुख देवराज घिमिरेले शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूसित छलफल गर्ने भएका छन् । मंगलबार बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उक्त छलफल गर्न लागिएको सभामुखको सचिवालयले जानकारी गराएको छ ।

यही वैशाख २८ गतेका निम्ति संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफूहरूका माग पूरा नभए संसद् बैठक चल्न नदिने जनाएको छ ।

नियमित रूपमा बैठक सञ्चालनका विषयमा सहमति जुटाउने प्रयासस्वरूप सभामुखले शीर्ष नेताहरूलाई बोलाएका हुन् । छलफलमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनलाई बोलाइएको छ ।

सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरुद्ध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष नेताहरूको बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

यसैबीच शीर्ष नेताहरुको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने बोलाईएको छैन् । संसद्मा १० सिट रहेको नेकपा एस राष्ट्रिय पार्टी नबनेपछि एसलाई बैठकमा नबोलाईएको हो ।



प्रतिक्रिया दिनुहोस्