Logo

पार्टी फुट्ने त्रासमा माधव नेपाल, मेटमणि भन्छन्: संसदीय दल एकताबद्ध छ



काठमाडौं,२४ वैशाख । सत्ता गठबन्धन भत्काउन प्रयासरत रहेको भन्दै जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि त्यसको असर अन्य साना पार्टीमा पर्ने देखिएको छ ।

आइतबार जसपाका ७ जना सांसदहरुले पार्टीबाट विद्रोह गर्दै जसपा गठन गरेका थिए । जसपा नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा भएको नयाँ पार्टी गठनमा सांसदहरु डा वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह सुडी, रञ्जु ठाकुर र हसिना खानले साथ दिएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिकामा रहेका छन् । उनी विदेश गएकै अवस्थामा पार्टी विभाजन भएको हो ।

जसपा फुटेपछि सबैभन्दा ठूलो असर नेकपा एकीकृत समाजवादीमा पर्ने निश्चित छ । सत्ता गठबन्धन भत्काउने खेलमा जसपाका नेताहरु भन्दा धेरै प्रयासमा एसका अध्यक्ष माधवकुमार नेपाल छन् । नेपाल सत्ता गठबन्धन भत्काएर नेपाली कांग्रेससँग मिलेर नयाँ गठबन्धन निर्माण गर्ने र प्रधानमन्त्री बन्ने ध्याउन्नमा छन् ।

आफू प्रधानमन्त्री बन्नकै लागि सत्ता गठबन्धन भत्काउने खेलमा लागेको भन्दै एसका सम्मानीत नेता झलनाथ खनालसहितका नेताहरु असन्तुष्ट छन् । पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका खनालले जसपाजस्तै एसपनि विभाजन गर्ने त्रासमा अध्यक्ष नेपाल छन् । एस निकट स्रोतका अनुसार १० जना सांसदमध्य खनालसँग ६ जना रहेका छन् । पार्टी फुट्ने अवस्था आएमा ती ६ जना सबैले खनाललाई साथ दिने बाचा गरेका छन् ।

सत्ता समीकरण र राजनीतिक दलको विभाजनका बीच खनालले आज बिहान मात्र अर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केनद्रका उपमहासचिव वर्षमान पुनसँग छलफल गरेका थिए । पूरानो गठबन्धन भत्काएर नयाँ सत्ता समीकरण निर्माणका प्रमुखमध्येका एक मानिएका पुनलाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूत बनाएर पठाएका हुन् ।

पार्टी फुट्नेत्रासका बीच एसका अध्यक्ष नेपालले संसदीय दलको बैठक डाकेका छन् । उनले बोलाएको संसदीय दलको बैठक अहिले केहीबेरमा बस्नेछ ।

पार्टी फु्टन लागेको चर्चालाई खण्डन गर्दै एसका प्रमुख सचेतक मेटमणि चौधरीले पार्टी एकढिक्का रहेको दाबी गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत चौधरीले हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

‘बिहानैदेखि पार्टि र संसदिय दलको बिषयमा भ्रमित अपवाहहरू फैलिएको छ । यस बिषयलाई लिएर पार्टि कार्यकर्ता, समर्थक र शुभचिन्तकहरू दुस्ख ब्यक्त गरिरहनु भएको छ’ उनले भनेका छन् यो भ्रमको खेति गर्नेहरूहरूलाई अनावश्यक भ्रम नफैलाउनको लागि सचेत गराउन चाहन्छु र कोहि पनि भ्रममा नपर्नको लागि सबैमा अनुरोध गर्न चाहन्छु । पार्टि र संसदीय दलमा न केही भएको छ न केही हुन्छ । संसदीय दल एकताबद्ध छ र हुन्छ’ ।



प्रतिक्रिया दिनुहोस्