काठमाडौं, २४ वैशाख । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किन जिम्मेवारी पर्खेर बसेको बताएका छन् । आज काठमाडौंमा आयोजित सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले गल्ती स्वीकार गरेको र पार्टी विभाजनको घाटा महशुस गरेको बताएका हुन् । साथै, आफूले पार्टी नफुटाएको पनि उनले दाबी गरे । अध्यक्ष केपी शर्मा ओलीको खुट्टा तान्न पार्टीमा आउने नभएर उनलाई सहयोग गर्न एमालेमा आउन लागेको उनले बताए ।
साथै, २०५४ सालमा पनि आफूले पार्टी नफुटाएको वामदेवको दाबी छ । पछिल्लो पटक पनि दुई जना अध्यक्षका कारण आफू एमालेबाट अलग भएको उनले बताए ।
उनले भने अध्यक्ष कमरेड केपी ओलीलाई आउने बेलामा मैले भने– ढिला भयो नि कमरेड । उहाँले के सोच्नुभयो मलाई थाहा छैन । एक पटक उहाँले मलाई बोलाउनु भएको थियो । पार्टी फुटेपछि म त्यसबेला आईन् । तर, पछिल्लो पटक म आएँ । कमरेड हामी फेरि फर्कन्छौं । मलाई के जिम्मा दिनुहुन्छ ? अरुलाई के जिम्मा दिनुहुन्छ ? भनेको उहाँले भन्नुभयो– हाइलेवल कमिटीले निर्णय गर्छ तपाईँहरुको बारे भन्नुभयो । हाइलेवल कमिटीले निर्णय कहिले गरेको छ ? आजसम्म मैले पर्खिराखेको छु । झण्डै सात÷आठ महिना भइसक्यो । मैले कमरेड केपीलाई भनेको छु– म ७५ वर्षको छु । उहाँले होईन तपाईँ ७६ वर्षको हुनुभयो भन्नुभयो । ७६ वर्ष भएपनि ल छु । बढेर के फरक पर्यो र ? झन राम्रो भयो । मेरो हिसाबले ७५ हो, तपाईको हिसाबले ७६ वर्ष भयो । तर, मैले पार्टीले दिएको जिम्मेवारी अहिले पनि पूरा गर्नसक्छु ।
मेरो गल्ती, कमी कमजोरी आदि इत्यादि देखिएका छन्, भएका छन् । आत्मालोचना गरेको छु । फेरि पार्टीमा आएको छु । मान्छेबाट गल्ती पनि हुन्छ, कमजोरी पनि प्रशस्तै हुन्छन् । रियालाइजेसन गर्नु सबैभन्दा ठूलो कुरा हो । मैले महशुुस गरेँ, पछिल्लो पटक दुई वटा अध्यक्ष दुईतिर भएको बेलामा मलाई चित्त दुख्यो । म कतैतिर पनि लागिन् । तर, दुईतिरकाले के भन्नुभयो भने अहिले पनि फुटाउने वामदेव हो । फुटेर जाने मिलाउनका निम्ति एउटा फोरम के बनाएको थियो, केही हुनसक्छ कि ? जनदवाब दिन सकिन्छ कि भनेको कसैले पनि साथ दिनुभएन । अब एक्लै के गर्नुर ? त्यही भएर अलग बसेँ ।
त्यसैबेला उहाँले बोलाउनु भएको थियो । आउनुस्, पार्टी दुईतिर भएको बेला बीचमा बस्न हुन्न तपाईँलाई घाटा लाग्छ भन्नुभएको थियो । आज घाटा लागेको छ कमरेड । केपीतिर बसे प्रचण्डको आलोचना गर्नुपर्ने, प्रचण्डतिर गए केपीको आलोचना गर्नुपर्ने । त्यसबेला आलोचना भनेको गालीगलौज नै हुन्थ्यो । सही नसक्नु, सुनिनसक्नु हुन्थ्यो त्यो । त्यस भएर म दुवैतिर गईँन । तर, त्यसबेला पार्टी फुटाएको मैले हुँदैहोईन । ०५४ सालमा पनि मैले पार्टी फुटाएको होईन । निश्काशन गरेपछि कुनै उपाय नभएपछि अलग पार्टी बनाइयो । रियालाइजेसन भएपछि फर्केर आइयो । अहिले पनि उहाँ (ओली) ले बोलाएको बेला जानुपथ्र्यो । जान सकिन् । म तपाई (ओली) लाई सहयोग गर्ने गरी पार्टीमा आउने हो । आगमी ०८४ को निर्वाचनमा हामीले ६० लाख मत पाउने गरी योजना बनाऔं ।