Logo

वामदेवको गुनासोः ओली-नेपाल दुवैको पार्टीमा पत्याएनन्



काठमाडौं, २४ वैशाख । राष्ट्रिय एकता महाअभियानका संयोजक वामदेव गौतमले आफूलाई नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) दुवैतिर नपत्याइएको बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनले आफूले आज पनि एमालेमा फर्किने चाहना राख्दा अध्यक्ष केपी शर्मा ओलीले ‘ग्रिन सिग्नल’ नदिएको बताए । साथै, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा जान खोज्दा पनि कुनै प्रतिक्रिया नै नदिइएको उनको भनाइ छ ।

‘त्यहाँ (एकीकृत समाजवादीमा) पनि मलाई ल्याउनुहुन्छ भने ल्याउनुस्, जिम्मेवारी दिनुस् भनेको थिएँ । उहाँहरु डराउनु भयो । कहिले पनि कुरा मिलेन । केपी ओलीसित पनि म एमालेमा रहेर काम गर्न चाहन्छु भनेँ ।’ उनले भने, ‘माधव नेपाललाई पनि तपाईँको पार्टीमा मलाई ल्याउनुस्, म काम गर्छु भनेँ । स्वागत गर्नुभएन । आज मैले सबैको अगाडि भने । मैले आश गरेको थिएँ, भोलिपर्सी नै हामी निर्णय गर्छौं भन्नुहुन्छ भनेको त !’

आफूले एमाले दुःख गरेर निर्माण गरेको दाबी गर्दै उनले सोही पार्टीमा फर्किने चाहना रहेको बताए । नेता गौतमले भने, ‘मैले निर्माण गरेको पार्टीका नेताहरु सबैभन्दा धेरै एमालेमा छन् । म एमाले निर्माण गर्ने व्यक्ति हुँ ।’

अध्यक्ष ओलीसमेत सहभागी रहेका उक्त कार्यक्रममा वामदेवले मुख फोरेरै आफू एमालेमा फर्किन चाहेको बताएका थिए । आफूलाई जिम्मेवारी दिएर नमरुन्जेलसम्म पार्टीको काममा लागाउन भनेका थिए । तर, ओलीले भने खिसिट्युरीको भावमा वामदेवलाई ‘राष्ट्रिय एकता महाअभियान सफल रहोस्, शुभकामना !’ भने । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot