काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई र राजेन्द्र श्रेष्ठले गरेको विद्रोहलाई उत्पीडित समुदायको पहिचान र अधिकारको आन्दोलनमाथिको धोकाको रुपमा चित्रण गरेका छन् ।
बस्नेतले आज (सोमबार) पार्टी विभाजनबारे टिप्पणी गर्दै उनीहरुको कदमले देश, जनता, आन्दोलन र अभियान कसैलाई पनि सहयोग नपुगेको बताएका हुन् ।
बस्नेतले अशोक राई र राजेन्द्र श्रेष्ठले उपेन्द्र यादवको कार्यशैलीको कारण पार्टी फुट्यो भनेर लोकरिझ्याइँ गरेको भरमा तमाम पार्टीका कार्यकर्ता र अभियन्ताहरु भ्रमित हुने अवस्था नरहेको बताए । असन्तुष्टी र स्वार्थको पोको बोकेर कहीँ नपुगिने उनको भनाइ छ ।
उनले नेपाली राजनीतिमा वैचारिक, सैद्धान्तिक विमतिबिना पार्टी फुटको अवस्थासम्म पुग्नु कुनै नयाँ घटनाक्रम नरहेको टिप्पणी गरे ।