Logo

माओवादी सचिव पौडेलको स्पष्टोक्तिः माधव नेपालको पार्टी फुटाउन प्रचण्ड-ओली लागिपरेको भन्ने कुरा सत्य होईन



काठमाडौं, २५ वैशाख । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले सहकारी समस्या समाधानका लागि संसदीय समिति बनाएर छानविन गर्न सकिने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले संसद्को गतिरोध अन्त्य गर्नका लागि सहकारी ठगी प्रकरणमा छानविन समिति बन्न आवश्यक रहेको बताएका हुन् । साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि संसद्को गतिरोध अन्त्य गर्नका लागि छानविन समिति बनाउन चाहेको बताएका हुन् । सभामुख देवराज घिमिरेले संसद् सूचारु गर्ने विषयमा छलफल गर्न बोलाएको बैठकमा सहमति जुट्ने र आगामी संसद् अधिवेशन प्रभावकारी रुपमा सञ्चालन हुने उनले विश्वास व्यक्त गरे ।

एक जना व्यक्ति र सहकारीलाई लक्षित गरेर भन्दा पनि शंकटग्रस्त समग्र सहकारीको समस्या समाधान गर्ने तरिकाले संसदीय समिति बनाएर निकास खोज्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘एक दुई वटा सहकारीको कुरालाई मात्रै ताकेर भन्दा पनि समग्र सहकारी पीडितलाई न्याय गर्नका निम्ति संसदीय समिति बनाउन सकिन्छ । त्यो बारेमा आज छलफल हुन्छ । प्रधानमन्त्रीले सदनमा देखापरेको गतिरोधलाई निकास दिनका निम्ति, प्रतिपक्षलाई पनि कतिपय विषयहरुमा सहकार्य गरेर अगाडि बढ्ने वातावरण बनाउनका निम्ति छानविन समिति बनाउन सकिने कुरा सार्वजनिक रुपमा पनि बोल्नु भएको छ । आज पनि त्यो बारेमा छलफल हुन्छ ।’

साथै, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटाउनमा प्रधानमन्त्री प्रचण्डकको कुनै हात नरहेको उनको दाबी छ । उनले फुटको संकेत राम्रो नभएको पनि टिप्पणी गरे । साथै, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) फुटाउन केपी ओली र प्रधानमन्त्री प्रचण्ड लागिरहेको भन्ने कुरामा कुनै सत्यता नरहेको उनले बताए ।

‘माधवजीको पार्टी फुटाउन केपी ओली र प्रचण्ड लाग्नु भएको भन्ने कुरा साँचो होईन । उहाँहरु भित्र पनि आफ्नो छलफल र वहस भइरहेका छन् ।’ उनले भने, ‘हिजो संसदीय दलको बैठक बसेर आफ्ना कुराहरु व्यक्त गरेको सुन्यौं । अहिलेको गठबन्धनलाई पनि जोगाउँदै नेपालमा खासगरी समृद्धि, सुशासन, सामाजिक न्याय हुँदै समाजवादको बाटोमा जाने हो र त्यसका निम्ति सबै मिलेर समस्याहरु सहजीकरण गरेर जाने कुरा अहिलेको आवश्यकता हो । त्यसभएर अरुको पार्टी फुटाउँदै हिँड्ने भन्ने होईन । ध्रुवीकरण पक्कै हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्