काठमाडौं, २५ वैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आह्वान गरेको शीर्ष नेताहरुहरुको बैठक जारी रहेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक बसेको हो ।
संसद्को वर्षे अधिवेशन प्रभावकारी रुपमा सुचारु गर्नबारे सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन् । पछिल्लो समय सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राखी कांग्रेसले विरोध गरिरहेको छ ।
सभामुख घिमिरेले आह्वान गरेको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरी, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीलगायतको उपस्थिति रहेको छ ।
उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपाका सभापति लामिछानेको संलग्नता सहकारी ठगी प्रकरणमा रहेको दाबी गर्दै कांग्रेसले निरन्तर संसदीय छानविन समितिको माग गर्दै आएको छ । कांग्रेसले संसदीय छानविन समितिको माग राखेर निरन्तर संसद्मा विरोध गरेपछि यसअघिको अधिवेशन अन्त्य गरिएको थियो । संविधानले सरकारको अर्थमन्त्रीले राजस्व र व्यायको अनुमान प्रत्येक वर्ष जेठ १५ गते संघीय संसदमा पेश गर्नुपर्ने बाध्यात्मक व्यवस्था राखेको छ । यसका लागि संसद् अधिवेशन पनि आह्वान भइसकेको छ ।
कांग्रेसलाई विश्वासमा लिएर संसद् सुचारु गर्न नसकेको खण्डमा सरकारलाई बजेट अधिवेशनमा संकट आइपर्ने निश्चित छ । त्यसकारण प्रधानमन्त्री प्रचण्ड एक जना व्यक्ति विशेषलाई किटान गरेर भन्दा पनि समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानविन समिति बनाउने पक्षमा उभिएका छन् । सत्तारुढ दलको घटक रहेको रास्वपाले भने सहकारी ठगी प्रकरण छानविनका लागि समिति बने सरकार छाड्ने चेतावनी दिइसकेको छ । Photo By: Mukunda Kalikote/Reporters Nepal