Logo

मुख्यमन्त्रीले विश्वासको मत नलिएपछि प्रदेश प्रमुखलाई रातारात ल्याईयो विराटनगर, एमाले- माओवादी छलफलमा



काठमाडौं,२६ वैशाख । कोशीका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन नमानेपछि रणनीति बनाउने नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरु छलफलमा जुटेका छन् ।

चैत २६ गते माओवादी र एमालेका सांसदले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका थिए । अल्पमतमा परेका कार्कीले हिजोसम्ममा विश्वासको मत लिनुपर्ने थियो । र, उनले विश्वासको मत लिएनन् ।

कार्कीले विश्वासको मत नलिएपछि उनी स्वत कामचलाउन मुख्यमन्त्रीमा परिणत भएको विपक्षीको तर्क छ । मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिने अडान लिएपछि विपक्षीहरूले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख खापुङलाई रातारात विराटनगर ल्याएका हुन् ।

यसअघि पाँचथर पुगेका प्रदेश प्रमुख खापुङ बुधबार बिहानै विराटनगर आइपुगेका छन् । तीनरचार दिनअगाडि मात्रै उनी पाँचथरको फालेलुङमा धर्मगुरु फाल्गुनन्दको शालिक अनावरणका लागि गएका थिए । तर, खापुङलाई एमाले र माओवादीले तारन्तरा बोलाएपछि उनी हिजो राती नै विराटनगर आईपुगेका छन् ।

प्रदेश प्रमुख विराटनगर आईसकेको र दुई दलका नेताहरु छलफलमा जुटेका कारण आजै नयाँ सरकार गठनको आह्वान हुने र एमोल प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेर शपथ गराउने तयारी रहेको उच्च स्रोतले जनाएको छ ।

यता कार्की भने नयाँ सरकार बन्न नसक्ने अडानमा छन् । मुख्यमन्त्री कार्कीले आफूलाई पदच्यूत गरेमा अदालत जानेसम्मको धम्की दिँदै आएका छन् । उस्तै परे प्रदेश सभा विघटनको सिफारिस गर्ने चेतावनी दिँदै आएका कार्कीलाई उनको दल नेपाली कांग्रेसले त्यसो नगर्न बरु अदालत जान निर्देशन दिएको छ ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने भन्दै प्रदेशसभाले संकल्प प्रस्ताव नै पारित गरेको थियो ।

प्रदेशसभाको विशेष अधिवेशनबाट गत वैशाख ७ गते संकल्प प्रस्ताव पारित गर्दै मुख्यमन्त्रीलाई संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिन निर्देशन दिएको थियो ।

२०८० असोज २८ गते संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई एमालेका ३९ र काँग्रेसका ८ सांसदले समर्थन गरेका थिए ।

मुख्यमन्त्री कार्कीले सरकार अल्पमतमा रहेको भए पनि संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार बनेकोले विश्वासको मत लिन नपर्ने जिकिर गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot