Logo

उपेन्द्रजीको कार्यशैलीप्रति विद्रोह गरेका हौं, जसपा नेपाल फुट्नुमा प्रचण्ड–ओलीको हात छैनः इस्तियाक राई



काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टीका महासचिव मो.इस्तियाक राई उपेन्द्र यादवले आफ्नो पक्षमा नरहेका नेताहरुलाई ठेगान लगाउन खोज्दा पार्टी विभाजन भएको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टी विभाजनको मुख्य कारक उपेन्द्र यादव नै रहेको बताए । उनले आफूहरुले उपेन्द्र यादवको कार्यशैलीप्रति विद्रोह गरेर नयाँ पार्टी बनाएको बताए ।

जसपा नेपालका अध्यक्ष यादवको अपारदर्शी क्रियाकलाप, अलोकतान्त्रिक निर्णय, हैकमवादी चरित्रका कारण पार्टी दुर्घटनामा भएको उनको भनाइ छ । उनले पार्टीे फुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुनै हात नरहेको प्रष्ट पारे । ‘प्रचण्ड र केपी ओलीको किन हात हुन पर्यो ? कानुनले सम्बन्धविच्छेद दिने व्यवस्था गरेको छ । उपेन्द्रजीको कार्यशैलीप्रति विद्रोह भइरहेको थियो । उहाँले सुधार गर्नुभएन,’– उनले भने ।

साथै, उपेन्द्र यादवले अझै पनि अध्यक्षमा आफैं रहन खोजेको उनको आरोप छ । २७ वर्षदेखि अध्यक्ष भएर यसपटक पनि पद हस्तान्तरणका लागि तयार नभएको, पार्टीको आसन्न महाधिवेशनका लागि क्रियाशील सदस्य बनाउने रसिदहरु प्रदेश कमिटी, जिल्ला, पालिका, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पठाउन पर्ने र योग्यता पुगेका संगठित सदस्यहरुलाई क्रियाशील सदस्य बनाउन पर्नेमा उपेन्द्रले आफ्नो व्यक्ति विशेषलाई ठाउँ–ठाउँमा बाँडेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्