Logo

सांसद्को शपथ लिएपछि सुहाङले के भने ?



काठमाडौँ, २६ वैशाख । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्वाङले विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने बताए ।

दिवङ्गत बुबा सुवासचन्द्र नेम्वाङले देखाएको मार्गदर्शन अनुसार आफू अघि बढ्ने उल्लेख गर्दै उनले इलामेली जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सांसद नेम्वाङले समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रुपमा उठाउने विश्वाससमेत दिलाए ।

“नेपालमा धेरै विकासका काम अघि बढेका छन् । धेरै नीति निर्माण भएका छन् । सुशासनमा कमजोरी देखिँदा नतिजा आउन सकेको छैन । एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर संविधानलाई कार्यान्वयन गर्न सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नुपर्छ । बुबा (सुवास नेम्वाङ) ले देखाउनुभएको मार्गनिर्देश अनुसार थाँती रहेका जिम्मेवारी पूरा गर्नेछु”, सांसद नेम्वाङले भने ।

गत वैशाख १५ गते भएको उपनिर्वाचनमा सुहाङ २७७७३ मत ल्याएर निर्वाचित भएका थिए । उनले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५८३० मतान्तरले पराजित गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot