Logo

कांग्रेस र गृहमन्त्रीको कारोबार हामी जान्दैनौं, तर संसद् बन्धक बनाउन पाइँदैनः महेश बर्तौला



काठमाडौं, २६ वैशाख । नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले आगमी संसद् अधिवेशनलाई बन्धक बनाउन नपाउने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई देखाएर कांग्रेसलाई संसद् अवरोध गर्ने छुट नरहेको बताएका हुन् । उनले कांग्रेस र गृहमन्त्री लामिछानेबीचको कारोबार आफूहरुलाई चासो नरहेको बताए ।

‘उहाँका बारेमा प्रश्न उठ्न हुन्छ, प्रश्न गर्न पाइन्छ । आवाज सानो छ भने ठूलो स्वरले गर्नुस् । तर, सवाल यतिमात्रै हो कि नेपाली कांग्रेस र गृहमन्त्रीसँग के लिनुदिनु छ ? के हो कारोबार ? हामी जान्दैनौं । तर, हाउस बन्धक बनाउन पाइँदैन । यती महत्वपूर्ण विधेयकहरु छन् । कांग्रेसले त्यसलाई बन्धक र अवरोध गर्न पाउँदैन,’– उनले भने ।

एमालले गृहमन्त्री लामिछानेमाथि लागेको आरोपका बारेमा संसद्बाट जवाफ सुन्न चाहेको उनले बताए । उनले कांग्रेसले गृहमन्त्रीलाई संसद्मा बोल्न नदिएर अलोकतान्त्रिक व्यवहार प्रदर्शन गरेको बताए । कांग्रेसले संसद्मा निषेध गर्दा गृहमन्त्रीले मिडियामार्फत आफ्ना कुरा भन्नुपर्ने परिस्थिति सिर्जना भएको उनले बताए । ‘गृहमन्त्रीलाई हामी आरोपका बारेमा सुन्न चाहन्छौं । कांग्रेसले गृहमन्त्रीलाई संसद्मा प्रस्तुत हुन दिएन । पहिलो कुरा गृहमन्त्रीलाई सुनौं । गृहमन्त्रीको कुरा के हो बुझौं । यो संसदीय प्रक्रिया पनि हो,’– बर्तौलाले भने ।

गृहमन्त्रीलाई संसद्मा बोल्नै नदिएर कांग्रेसले ज्यादती गरेको उनको भनाइ छ । कांग्रेसले गृहमन्त्रीलाई आफ्ना कुरा राख्ने मौका दिएमा त्यसपछि एमाले पनि कांग्रेसलाई सुन्न तयार रहेको बर्तौलाले बताए । ‘सरकारलाई संसद्मा प्रवेृश गर्न नदिने ज्यादती कांग्रेसले पहिला सुधार्न पर्यो । पहिला गृहमन्त्री र सरकारको विषय संसद्बाट सुन्न कांग्रेस तयार हुन्छ भने त्यसपश्चात कांग्रेसलाई सुन्न एमाले पनि तयार हुनसक्छ । यो कुराले कांग्रेसलाई पनि राम्रो गर्दैन,’– बर्तौलाले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot