Logo

आनन्दमोहन भट्टराईजस्ता निश्पक्ष र निष्कलङ्क न्यायाधीशलाई विवादित बनाइयो: वरिष्ठ अधिवक्ता भण्डारी



काठमाडौं, २६ वैशाख । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले ‘सिधा कुरा’ टिमले बाहिर ल्याएको अडियो प्रकरणलाई लिएर न्यायापालिका र प्रेस जगतबीच असामञ्जस्यपूर्ण परिस्थिति सिर्जना भएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले उक्त प्रकरणमा स्वच्छ र निष्कलङ्क छवि भएका सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईलाई विवादित बनाइएको भन्दै आपत्ति जनाए ।

‘मलाई दुःख लागेको कुरा के हो भने आनन्दमोहन भट्टराईजस्तो निश्पक्ष, निष्कलङ्क न्यायाधीश, प्रत्येक न्यायाधीशका सबै निर्णयहरु सही हुन्छन् भन्ने छैन । न्यायाधीश पनि मानिस हुन्, उनीहरुले गरेका निर्णयहरुमा पनि कमी कमजोरी हुन्छन् ।’ उनले भने, ‘तर, आनन्दमोहन भट्टराईजस्ता व्यक्तिहरु निष्कलङ्क व्यक्तिको रुपमा चिनिनुहुन्छ । उहाँमाथि जुन किसिमको आरोप आयो, त्यसले आम न्याय र कानुनी जगत दुःखी छ ।’

क्रमिक रुपमा विगतका चुनौती र अप्ठ्याराहरुलाई पार गर्दै क्रमिक रुपमा सुधारका काम गरिराखेको र राम्रो परिणाम दिने सुरुवात गरेको न्यायापालिकामाथि प्रश्नचिन्ह खडा गराएर आम नागरिकमा भ्रम सिर्जना गराइएको उनको आरोप छ । अख्तियारले आफैंले प्रमाण सिर्जना गरेर स्ट्रिङ अप्रेसन गर्नु कानुनको आधारभूत सिद्धान्त विपरीत हुन्छ भनेर सर्वोच्चले गरेको उक्त निर्णयमा न्यायाधीश भट्टराईको कुनै संलग्नता नरहेको उनले बताए । उक्त निर्णयमा संलग्नता नभएको न्यायाधीशलाई विवादमा तान्ने काम भएको उनले बताए ।

साथै, राज्यले प्रेसलाई आवाजविहीन बनाउन नहुने उनको भनाइ छ । प्रेसले पनि के कुरा सार्वजनिक हो र के कुरा नीजि हो भन्ने विर्सन नहुने उनले बताए । प्रेसले नीजी कुरालाई सार्वजनिक र सार्वजनिक कुरालाई नीजी बनाउने काम गरिरहेको उनको टिप्पणी छ । तथ्यगत रुपमा अनुसन्धान नगरी आक्षेप र कसैको हुर्मत लिनका लागि मिडियामा समाचार आउने गरेको उनले बताए । ‘सिधा कुरा’ टिमले बाहिर ल्याएको अडियो प्रकरणमा सर्वोच्च अदालतमा चलिरहेको मुद्दाले प्रेस र न्यायापालिकाको सन्दर्भमा जटिल र गम्भीर निश्कर्ष निकाल्ने उनले विश्वास व्यक्त गरे ।

त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र आफूले संयुक्त रुपमा दिएको रिट निवेदनको सन्दर्भमा आफूमाथि लागेको आरोपमा उनले स्पष्टीकरण दिए । वरिष्ठ अधिवक्ता न्यौपानेले आफ्नो बारेमा लगाएको आरोप ज्यादै संवेदनशील, आक्षेपयुक्त र इज्जत र प्रतिष्ठामा हुर्मत लिने प्रकारको रहेको उनले बताए ।

न्यौपानेले ‘सुरेन्द्र भण्डारीको व्याकग्राउन्ड माओवादी रहेछ, नागरिकता बाँड्नुपर्छ भनेर रिट निवेदनमा लेखेको रहेछ । उ सिके राउतको एजेण्ट रहेछ । विदेशीको एजेन्ट रहेछ । एभरेष्ट होटलमा एमालेका कार्यकर्तामार्फत पैसा खाँदोरहेछ । विदेशबाट कति पैसा खायो ? हाम्रा हातमा आएका बखत अनुसन्धान गरौंला । १५ वर्ष मैले नै रोकेको नागरिकता सुरेन्द्र भण्डारीको कारणले सिद्धियो । चुच्चेटोपी नलगाइ हिँड्दैन, दौरासुरुवाल नलगाइ हिँड्दैन धन्दा यस्तो रहेछ । यस्तालाई नङ्ग्याउन पर्छ । विदेशीलाई नागरिकता दिनुपर्छ भनेर रिट हाल्दो रहेछ’ जस्ता आरोप लगाएको बताए ।

बालकृष्ण न्यौपानेले लगाएको कुनै पनि आरोपमा सत्यता नरहेको उनले बताए । आफूमाथि लगाएका आरोपहरु पुष्टि गरेर देखाउने उनले चुनौती दिए । आफूमाथि अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन उनले बालकृष्ण न्यौपानेलाई चुनौती दिए । आफूविरुद्ध लगाइएका आरोपहरु पुष्टि नगरेर यो विषयलाई अदालतमा प्रवेश गराउनेसमेत चेतावनी दिए ।

साथै, कानुन दिवसको अवसरमा उनले वर्तमान संविधानमाथि पनि केही टिप्पणी गरे । संविधानकै हिमायती भन्नेहरुले वर्तमान संविधानलाई काम नलाग्ने ठानिसकेको अवस्थामा आफूले भने संविधानले बाटो विराएको रुपमा मात्रै लिएको बताए । उनले वर्तमान संविधानलाई करेक्सन गरेर अगाडि जान सकिने बताए ।

‘म अझै पनि यो संविधान काम नलाग्ने भइसकेको ठान्दिन । यो संविधानले बाटो विराएको ठान्छु । यो संविधानलाई करेक्सन गर्न जरुरी छ । व्यापक रुपमा संशोधन गर्न जरुरी छ,’– उनले भने ।

त्यस्तै, मुलुकमा निषेधको राजनीति गरेर यो संविधान करेक्सन नहुने उनको भनाइ छ । उनले निषेधको राजनीतिका कारण संविधानमाथि नागरिकको विश्वास कम हुँदै गएको बताए । अधिवक्ता भण्डारीले अब नेतृत्वलाई समेत करेक्सन गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot