Logo

पदच्यूत भएसँगै मुख्यमन्त्री कार्की काठमाडौंमा, सरकार गठनको आह्वानविरुद्ध रिट दर्ता गर्ने तयारी



काठमाडौं, २७ वैशाख । पदच्यूत भएसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की काठमाडौं आएका छन् । कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेसँगै उनी स्वतः काम चलाउ मुख्यमन्त्री बनेका हुन् ।

उनले आजै सर्वोच्च अदालतमा अन्तरिम आदेशको मागसहित रिट दायर गर्ने बताइएको छ । मुख्यमन्त्री कार्कीका विरुद्ध एमाले–माओवादीका प्रदेश सभा सदस्यहरुले प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गराएका थिए । संकल्प प्रस्ताव पारित भएपछि मुख्यमन्त्री कार्कीले विश्वसको मत लिएनन् । मुख्यमन्त्री कार्कीका अनुसार संविधानको धारा १६८ (५) बमोजिम बनेको सरकारलाई विश्वासको मत पाएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन ।

उनी यसअघि उपधारा ५ बमोजिम मुख्यमन्त्रीका नियुक्त भएका हुन् । उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुँदा दलको समर्थन नभएर व्यक्तिको समर्थन हुने, व्यक्तिको समर्थन फिर्ता लिन नमिल्ने मुख्यमन्त्री कार्कीको जिकिर छ ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वानलाई च्यालेन्ज गर्न उनी अदालत जान लागेका हुन् । उता कोशीमा भने एमाले–माओवादी मिलेर सरकार गठनका लागि दाबी पेश गर्ने तयारी थालेका छन् । एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा अगाडि सारेर दाबी पेश गर्ने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot