Logo

प्रचण्डको आदेशमा मधेश सरकारबाट बाहिरिँदै माओवादी



काठमाडौं,२७ वैशाख । सत्तारुढ दल जसपा नेपाल विभाजन भएसँगै यसका बाछिट्टाहरु प्रदेशमा पनि देखिन सुरु भएको छ ।

जसपा विभाजन भएको ४ दिनमै जसपाकै नेतृत्वमा रहेको मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ ।

उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपाल विभाजन गरेर गत सोमबार जसपा नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले जसपा नामक नयाँ दल गठन गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निदेृशनअनुसार माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भरत साहलाई फोन गरेर तत्काल सरकारबाट बाहिरिन निर्देशन दिएपछि अहिले माओवादी मधेश प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ । बैठकले सरकारबाट बाहिरिएको घोषणा गर्नेछ ।

हाल मधेशमा जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन् । तर, जसपा नेपाल फुटेपछि यादव कुन पक्षमा जान्छन् त्यो प्रष्ट भईसकेको छैन् । दुवै पक्षले मधेशमा आफ्नो दलको बहुमत रहेको दाबी गरिरहेको छ ।

पार्टी फुट्नासाथ सत्ता साझेदार दलले समर्थन फिर्ता लिने तयारी गरेपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यता सत्ताको अर्को घकट दल नेकपा एमालेले पछि आज सरकारका बारेमा छलफल गर्दैछ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि एमालेले पनि आफ्ना सांसद र मन्त्रीलाई तत्काल प्रदेश राजधानी आउन भनेको छ ।

मधेशमा जसपा र माओवादीबीच सुरु देखिनै राम्रो सम्बन्ध छैन् । माओवादी केन्द्रले मधेश प्रदेशमा दुईवटा मन्त्रालय पाए पनि सो पार्टीका नेता साहले वन मन्त्रालय स्वीकार गरेको छैनन । पछिल्लो समय मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिँदा माओवादीलाई अर्थ मन्त्रालय दिने सहमति गरेका थिए । विश्वासको मत लिइसकेपछि माओवादीलाई वन मन्त्रालय दिएका कारण साहले सो मन्त्रालय स्वीकार नगरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्