Logo

गुरुङको निधनमा तीन दिनसम्म पार्टीको कार्यालयहरूमा झण्डा आधा झुकाउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले पूर्व मन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारति गरेको छ ।

आज बिहान बसेको आकस्मिक बैठकद्वारा पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व मन्त्री गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्थानीय विकास पूर्व मन्त्री सूर्यमान गुरुङको बैशाख २५ गते बिहान काठमाडौं ज्ञानेश्वर स्थित हिमाल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

२०१४ को भद्र अवज्ञा आन्दोलनमा सहभागी भई नेपाली कांग्रेसको राजनीतिक यात्रा प्रारम्भ गरेका गुरुङलाई २०१७ मा प्रजातन्त्र अपदस्थ पछि तत्कालीन व्यवस्थाले पक्राउ वारेण्ट जारी गरेको थियो । तत्पश्चात उनी भारतको दार्जलिङ निर्वासित भई सशस्त्र संगठनमा सक्रिय रहेका थिए ।

२०१८ फागुन २२ गते च्याङथापुमा श्रीजंग गुल्ममा आक्रमण गरी कब्जा गर्दाको समयमा र २०१८ चैत्र १७ गते ताप्लेजुङ अदालत, प्रहरी कार्यालय र जेल कब्जा गरी कैदीहरुलाई मुक्त गरेको अभियोगमा उनलाई ट्रिबुनलले जन्म कैदको फैसला गरेको थियो । लोकतन्त्र स्थापनाका लागि गरिएका संघर्षका क्रममा गुरुङले पटक—पटक जेल जीवन, भारत निर्वासन, नजरबन्द, सम्पत्ति रोक्का जस्ता विविध व्यवधानहरु बेहोर्नु परेको थियो ।

नेपाली कांग्रेस ताप्लेजुङको पटक–पटक जिल्ला सभापति, नेपाल आदिवासी जनजाति संघका पूर्व केन्द्रीय सभापति, नेपाल किसान संघका पूर्व केन्द्रीय महासचिव, नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको पूर्व सदस्य जस्ता विभिन्न पदीय जिम्मेवारीमा रहेर उनले कुशलतापूर्वक कार्य गरेको कांग्रेसले जनाएको छ ।

१९९८ बैशाख १० गते पिता भगीमान गुरुङ र माता मनमाया गुरुङको सुपुत्रका रुपमा जन्मिका गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

कांग्रेसले गुरुङको निधनपछि २०८१ बैशाख २७, २८ र २९ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने भएको छ ।

त्यस्तै बैशाख २८ गते शुक्रबारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने , स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने पनि निर्णय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्