Logo

कोशीमा एमालेका राना र माओवादीका उप्रेतीले लिए मन्त्रीको शपथ



काठमाडौं,२७ वैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्रीको पदको शपथ लिएसँगै कार्कीले आज २ जनालाई मन्त्री नियुक्त गरेका हुन् । कार्कीले एमालेका रामबहादुर राना र माओवादी केन्द्रका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका छन् ।

उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन् । उनीहरूलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन । 

गत वर्षको प्रदेश सभा निर्वाचनमा राना इलाम २ को (ख) बाट निर्वाचित भएका थिए, भने गणेश उप्रेती मोरङका सांसद हुन् । यसअघि पनि उनीहरु दुवैजना प्रदेशका मन्त्री थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेका ३९ र माओवादीका १३ जनागरि ५२ जना सांसदको समर्थन रहेको छ ।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गरेका थिए । यता निवर्तमान मुख्यमन्त्री कार्की भने नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।

नयाँ सरकार गठनको आह्वान खारेज गरेर मुख्यमन्त्रीमा आफैंँलाई निरन्तरता दिन परमादेश माग गरेर कार्की आज सर्वोच्च पुगेका हुन् । उनले दायर गरेको रिटमाथि भोलि प्रारम्भिक सुनुवाई हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot