Logo

माधव नेपालले सरकार भत्काउँछु भन्दैमा भत्किँदैनः झलनाथ खनाल



काठमाडौं, २८ वैशाख । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले माधव नेपालले सरकार भत्काउँछु भन्दैमा नभत्किने टिप्पणी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीले वर्तमान सरकारलाई समर्थन गर्ने भनेर संकल्प प्रस्तावसमेत पारित गरेकाले अध्यक्ष नेपालले चाहँदैमा सरकार नभत्किने बताएका हुन् ।

‘उहाँले जेसुकै गरेपनि, मानिलिनुस्, यो सरकार भत्काउँछौं भन्ने कुरा गर्नुभएछ रे । तर, भत्किँदैन नि त । नेकपा (एकीकृत समाजवादी) को म सम्मानित नेता हुँ । मैले यो भत्काउँछु भनेर भत्किन सकछ र ? भत्किँदैन । माधव कमरेडले पनि म भत्काउँछु भनेर भत्किन सक्दैन ।’ उनले भने, ‘कसैले पनि म भत्काइदिन्छु भनेर भत्किँदैन । पार्टीले नै भत्काउँछु भनेछ भने अलिअलि बेग्लै कुरा हो । पार्टीले त सुरुदेखि नै हामी यो समीकरणमै रहन्छौं, समीकरणमा संलग्न भएर जान्छौं । वाम एकता निर्माण गर्छौं । वाम र लोकतान्त्रिक शक्तिहरुको यो संयुक्त सरकार हो । यो संयुक्त सरकारलाई टिकाएर जानुपर्छ । हामीले त संकल्पसमेत पारित गरेका छौं त ।’

साथै, पार्टीका केही नेताहरुले वर्तमान सरकारका बारेमा पार्टीको निर्णयविपरीत बोलेको भन्दै उनले आपत्ति जनाए । पार्टीले नै सरकारलाई समर्थन गरेको अवस्थामा सांसदहरुले निर्णयको विपरीत बोल्न नहुने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot