Logo

गण्डकीका मुख्यमन्त्रीले लिएको विश्वासको मत विरुद्धको रिट मुसलमानको इजलासमा



काठमाडौं,२८ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ पूर्व मुख्यमन्त्री तथा कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट हालेका थिए । सो रिट सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा परेको छ ।

बिहीबार उक्त रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको थियो । तर, सर्वोच्चका पूर्व न्यायाधीशको निधनका कारण बिहीबार कुनैपनि सुनुवाई भएन् । “विपक्षी प्रत्यर्थी खगराज अधिकारीले मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त गर्न अनेक जालझेल गरी बहुमत पुग्दै नपुगेकोमा बहुमत संख्या पुगेको भनि देखाइ विश्वासको मत पारित भएको भन्दै गरिएको घोषणा गर्ने कार्य प्रथम दृष्टिमा गैरकानुनी र त्रृटिपूर्ण भएको हुँदा घोषणालगायत सम्पूर्ण निर्णय काम कारबाहीमाथि उल्लेखित संवैधानिक प्रावधानको विपरीत भएको हुँदा मिति २०८१-०१-२३ मा विश्वासको मत लिने सम्बन्धमा सभामुखबाट भएको घोषणा उत्प्रेषणको आदेशले बदर गरी पाऊँ,” रिट निवेदनमा उल्लेख गरिएको छ ।

पाण्डेले अधिकारीले पाएको विश्वासको मत बदर गरेर आफैलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गरिपाउँ भनी परमादेश मागेका छन् । मुख्यमन्त्री अधिकारीले गत आइतबार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । गण्डकीका सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० सिटलाई बहुमत घोषणा गरेर अधिकारीले बहुमत प्राप्त गरेको बताएका थिए । उनले आफूसँग पनि मत हाल्न पाउने अधिकार रहेको बताएका थिए ।

आइतबारको संसद् बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ तथा २ जना तटस्थ बसेका थिए । ३१ सिट बहुमतका लागि चाहिने गण्डकीमा सभामुखले ३० लाई नै बहुमत घोषणा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot