Logo

अब हुन्डाईको गाडी नेपालमै एसेम्बल हुने, प्रधानमन्त्रीले गरे उद्घाटन



काठमाडौँ, २८ वैशाख । अब नेपालमै हुन्डाई गाडीको एसेम्बल हुने भएको छ।

त्यसका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’को उद्घाटन गरिएको छ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवलपरासीमा रहेको प्लान्टको उद्घाटन गरेका हुन्।

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले दक्षिण कोरियाली कम्पनी हुन्डाईको एसेम्बलिङ प्लान्ट खडा गरेको हो।

दक्षिण कोरियाली राजदूत पार्क थेयङले गत चैतमा नै मेबाट प्लान्ट सञ्चालनमा आउने बताएका थिए। सोहीअनुसार आज प्लान्टको अनावरण गरिएको हो।

नवलपरासीको रामग्राम नगरपालिका ६ मा उक्त प्लान्ट छ। यसबाट वार्षिक ४ हजार ५ सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ।

प्लान्ट सञ्चालनमा आएसँगै सयौँले रोजगारी पाउने बताइएको छ। यो प्लान्टबाट हुन्डाईका भेन्यु कार एसेम्बल्ड हुनेछन्। अब पार्टपुर्जा आयात गरी यही प्लान्टबाट गाडी तयार हुनेछ।

लगानीकर्ताको मनोबल उच्च राख्छौँ : प्रधानमन्त्री

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका थिए।

प्लान्ट शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए। निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यविना देशको अर्थतन्त्र सबल हुन नसक्ने भन्दै प्रधानमन्त्री दाहालले अनि मात्र उत्पादकत्व वृद्धि, रोजगारीका अवसरहरू सिर्जना हुन सक्ने बताएका थिए।

प्रधानमन्त्री दाहालले भने, “देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ।”

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने प्रधानमन्त्रीको विश्वास छ। प्रधानमन्त्री दाहालले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए।

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कुल गार्हस्थ्य उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot