Logo

कांग्रेसको निश्कर्षः ‘सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टि गर्ने पर्याप्त प्रमाण छन्’



काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता पुष्टि गर्ने पर्याप्त प्रमाण रहेको निश्कर्ष निकालेको छ । आज (शुक्रबार) बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निश्कर्ष निकाल्दै संसदीय छानविन समितिको मागलाई यथावत राखेको हो । बैठकको निर्णयहरु सार्वजनिक गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘सहकारीमा बचत गरेको रमक दुरुपयोग, हिनामिना, अपचलन, ठगी हुने काममा नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री माननीय रवि लामिछानेजीको संलग्नता रहेकोमा पनि पर्याप्त तथ्य र प्रमाणहरु देखिइसकेको छ ।’

नागरिकको अर्बौं बचत हिनामिना, दुरुपयोग र ठगी भएको विषय अब कांग्रेसको मात्रै नभएर सबै नेपाली जनताको चासो, चिन्ता र सरोकारको विषय भइसकेको उनले बताए । नेता लेखकका अनुसार सहकारीमा बचत गरेका नागरिकहरुको बचत रकम सुरक्षित गर्ने, हिनामिना, दुरुपयोग, ठगी र अपचलनको छानविन गर्ने, अपचलन गर्ने मानिसहरुलाई कारबाही गर्ने कुराको सुनिश्चितता हुनुपर्ने कांग्रेसको माग छ ।

गृहमन्त्री लामिछानेको पनि संलग्नता देखिएको हुनाले अनुसन्धान स्वतन्त्र र निश्पक्ष होस् भन्ने शुनिश्चितताका लागि कांग्रेसले संसदीय छानविन समितिको माग गरेको उनले बताए । उनले पछिल्लो समय सहकारी ठगी प्रकरणमा बाहिर आएका विभिन्न घटनाक्रम र तथ्यहरुले संसदीय समितिको माग उचित थियो भन्ने पुष्टि भएको बताए । प्रमुख प्रतिपक्षी दललगायतका अन्य राजनीतिक दलहरुले सहकारी ठगी प्रकरणमा संसद्मा आवाज उठाउँदा पनि सरकार संवेदनशील नभएको कांग्रेसको निश्कर्ष छ । नेता लेखकले सरकार संवेदनहीन भएको, जिम्मेवार हुन नसकेको बताए ।

सरकारले सहकारी पीडितहरुलाई न्याय दिनुको साटो संवैधानिक निकायलाई समेत अनुसन्धानमा अवरोध गर्न प्रयोग गरेको कांग्रेसको आरोप छ । सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न संवैधानिक निकायको दुरुपयोग गरेको नेता लेखकले बताए । कांग्रेसले राज्यका कुनै पनि अंगको दुरुपयोग गर्ने काम तत्काल रोक्न सरकारसँग माग गरेको छ । साथै, डढेलोबाट पीडित भएकाहरुलाई राहत र पुनर्स्थापनाका लागि कांग्रेसले माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot