Logo

ओलीले भित्र्याएका वीरगञ्जका पूर्वमेयर सरावगीले छाडे एमाले, उपेन्द्रको पार्टीमा जाने तयारी



काठमाडौं,२८ वैशाख । स्थानीय तह निर्वाचन ०७९ को पूर्वसन्ध्यामा तामझामसहित नेकपा एमालेमा प्रवेश गरेका वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले एमाले परित्याग गरेका छन् ।

गत साता नै अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका सरावगीले शुक्रबार सामाजिक सञ्जालमार्फत एमाले छाडेको जानकारी गराएका छन् । एमालेमा प्रवेश गरेर सरावगी ०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट वीरगञ्जको मेयरमा उम्मेदवार बनेका थिए । तर, पराजित भए ।

उनी हाल एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य थिए । एमाले त्यागेसँगै उनी पुरानै घर जसपा नेपाल फर्किने चर्चा चल्न थालेको छ । जसपा नेपाल विभाजन हुँदा उपेन्द्र यादव नेतृत्वको पार्टी सरावगीको गृहजिल्ला पर्सामा कमजोर हुने देखिन्छ । त्यसैले उनी जसपामा फर्किएर सक्रिय राजनीति गर्ने तयारीमा छन् । यद्यपि सरावगीले राजीनामामा भने आफू कुनैपनि पार्टीमा नजाने उल्लेख गरेका छन ।

२०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट वीरगन्ज महानगरको मेयरमा निर्वाचित भएका सरावगी गत स्थानीय तह निर्वाचन भन्दा पहिले २०७८ साल फाल्गुन २८ गते जसपा छाडेर एमालेमा प्रवेश गरेका थिए। गत निर्वाचनमा सरावगी एमालेबाटै वीरगन्ज महानगरको मेयरमा चुनाव लडेर पराजित भएका थिए। त्यसपछि उनलाई एमालेले २०७९ साल असार २७ गते एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्यमा मनोनित गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot