Logo

कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्री बनाएर काँधमा होईन, टाउकोमै बोक्छ भनेपनि हामीलाई आपत्ति छैनः केपी ओली



काठमाडौं, २८ वैशाख । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्री बनाएर टाउकोमै बोकेपनि आफूहरुलाई आपत्ति नरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाउँदा हुने टिप्पणी गरेका हुन् । ‘कांग्रेसले त्यस्ता महानुभाव (माधव) लाई प्रधानमन्त्री बनाएर काँधमा होईन, टाउकोमा चढाएर बोक्छ भनेपनि हामीलाई आपत्ति छैन । बोके हुन्छ,’– ओलीले भने ।

उनले एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रधानमन्त्री बन्दा आफ्नो मन भतभती नपोल्ने पनि बताए । केही दिनअघि एक कार्यक्रममा अध्यक्ष नेपालले ‘म प्रधानमन्त्री बन्नेभएँ भनेर कसै–कसैको मन भतभती पोलेको छ’ भनी ओलीलक्षित अभिव्यक्ति दिएका थिए । माधव नेपालको उक्त अभिव्यक्तिमा जवाफ फर्काउँदै ओलीले भने, ‘त्यो पार्टीका नेताहरुले म प्रधानमन्त्री हुनैआँटे भनेर कसैको मन भतभत पोल्याछ भनेछन् । कहाँ प्रधानमन्त्री हुन आँटे ? कताबाट हुन आँटे ? हामीलाई भनेको हो हामीलाई कोही प्रधानमन्त्री हुँदापनि मन भतभत पोल्दैन । हामी खुसी त एमालेको सरकार बन्यो भने, एमालेको बहुमत आयो भने हुन्छौं होला । बाँकी सधैं मन भतभत पोलिराख्ने ? हामीलाई मन भतभत पोल्दैन । हामी रियालिटीलाई सहज ढंगले स्वीकारर्छौं ।’

साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा भएको छलफलमा एकीकृत समाजवादीका नेताको अभिव्यक्ति आफूले सम्झिरहेको पनि उनले बताए । उनले उक्त अभिव्यक्तिलाई ‘अस्वस्थ, आक्रोशित र कुण्ठाग्रस्त’ को रुपमा चित्रण गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot