Logo

माओवादी नेताको फेरियो बोली,‘हामीले गृहमन्त्री चोखो हुनुहुन्छ भनेकै छैन’



काठमाडौं, २९ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले आफूहरुले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने चोखो रहेको दाबी नगरेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार समग्र सहकारीको समस्या समाधान गर्नेगरी छानविन समिति बनाउन तयार रहेको बताए ।

समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानविन समिति बनाऔं भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछाने संलग्न रहेको सहकारीको छानविन गर्न हुँदैन नभनको उनको जिकिर छ । कांग्रेसले सबै सहकारी पीडितहरुलाई न्याय दिनेगरी भन्दापनि उपप्रधान एवं गृहमन्त्री लामिछानेलक्षित गरेर समिति बनाउन चाहेको उनको भनाइ छ ।

‘हामीले गृहमन्त्री चोखो हुनुहुन्छ भनेकै छैन । सत्तामा रहुन्जेल कांग्रेसले एक दिनपनि सहकारी पीडितको बारेमा बोलेन । रवि लामिछानेमाथि छानविन हुनुपर्छ भनेर एक दिन सदन अवरोध गरेको सुन्नुभयो ? सत्ताबाहिर जानेबित्तिकै कांग्रेसले एउटा प्राविधिक मुद्दा उठाएर निरन्तर सदन अवरुद्ध गर्यो,’– उनले भने ।

संघीयता कार्यान्वयन गर्न मद्दत पुग्ने संघीय निजामती ऐन, संघीय शिक्षा ऐन, प्रहरी समायोजन ऐन, टिआरसी विधेकलगायत झण्डै २३ वटा विधेयहरु सदनमा रहेको अवस्थामा अवरोध गरेर कांग्रेसले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको उनको भनाइ छ । पछिल्लो यसम उपप्रधान भवं गृहमन्त्री लामिछानेको बारेमा बाहिर आएजसरी सरकारी निकायमा आधिकारिक ढंगबाट कुनै दस्तावेज नआएको उनको दाबी छ । उनले प्रचण्ड नेतृत्वको सरकारको मुख्य नारा सुशासन, समृद्धि र सामाजिक न्याय रहेको बताउँदै समग्र सहकारीको समस्या समाधानका लागि समिति बनाएर पीडितलाई न्याय र ठगहरुलाई कानुनी कारबाहीका लागि सरकार तयार रहेको बताए ।

‘प्रधानमन्त्रीले रोस्टमबाट भन्नुभएको छ, अहिलेसम्मको प्रहरी प्रतिवेदनको आधारमा बाहिर जुन ढंगले विषयवस्तु आए, त्यसैगरी आधिकारिक ढंगले दस्तावेजहरु नेपाल सरकारसँग आएका छैनन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको मुख्य नारा सुशासन, समृद्धि र सामाजिक न्याय हो । अहिले गृहमन्त्रीसहित छानविन गर्ने भनेको हो । गृहमन्त्री बाहेक भनेको होईन नि त ? सरकारका तर्फबाट सम्माननिय प्रधानमन्त्रीले प्रष्ट भन्नु भएको छ, नेपालको सन्दर्भमा सहकारी समस्या राष्ट्रिय समस्या हो । समग्र सहकारी समस्या न्याय निरुपण गर्नुपर्छ । सहकारी ठगहरुलाई कानुनको दायरामा ल्याउनुपर्छ । त्यसको निम्ति छानविन समिति बनाउन नेपाल सरकार तयार छ । तर, रवि लामिछाने संलग्न भएको बाहेकका सहकारी त भनिएको छैन नि ।’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्