काठमाडौं, २९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहरकारी ठगी प्रकरणमा संलग्न रहेको दाबी गर्दै नेपाली कांग्रेस आक्रमक रुपमा प्रस्तुत भइरहेको छ । सदनदेखि विभिन्न फोरमहरुका कांग्रेसका नेताहरुले सहकारी ठगी प्रकरणमा रवि लामिछाने संलग्न रहेको दाबी गर्दै आएका छन् । सहकारी ठगी प्रकरणमा कांग्रेसले संसदीय छानविन समितिलाई एक शुत्रीय मागको रुपमा अगाडि सारिहरेको छ ।
यस्तै, सहकारी ठगी प्रकरणमा आफू विरुद्धको प्रमाण नष्ट गर्न लामिछाने गृहमन्त्री बनेको कांग्रेसको आरोप छ । सहकारी ठगी प्रकरणबाट चोखिन रविले प्रधानमन्त्रीदेखि सरकारका अंगहरुको दुरुपयोग गरेको कांग्रेस महामन्त्री गगनकुमार थापाले बताउँदै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई चोख्याउन वासिङ मेसिन नै लिएर बसेको उनको टिप्पणी छ ।
साथै, लामिछानेले सहकारी ठगी प्रकरणमा चोखिन प्रहरी महानिरीक्षकदेखि महान्यायाधिवक्तासम्मको दुरुपयोग गरेको बताए ।उनले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँबर र महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलको नैतिकतामाथि प्रश्न उठाए । हिजो (शुक्रबार) को प्रतिनिधि सभा बैठकमै महामन्त्री थापाले महान्यायाधिवक्ता पोखरेल संवैधानिक निकायको पदमा रहेर पनि झुकाव, दवाब र प्रभावमा परेको दाबी गरे । महान्यायाधिवक्ताले गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा क्लिन चिट दिएको उनको आरोप छ । ‘कानुनले भन्छ, महान्यायाधिवक्ताले कुनै प्रभावमा पर्न हुँदैन, झुकाव राख्न हुँदैन । झुकाव होईन, महान्यायाधिवक्ता त झुक्दा–झुक्दा लम्पसार नै परिसक्नुभयो,’– संसद्मा गगनले भने ।
महान्यायाधिवक्ताको कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको साहारा सहकारी संस्था तथा कास्कीको सुर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनामा गृहमन्त्री लामिछानेको संलग्नता नदेखिएको, कुनै उजुरी, जाहेरी, अनुसन्धान तथा अभियोजन समेत भएको नदेखिएको भनी पत्र पठाएको थियो ।
त्यस्तै, गृहमन्त्री लामिछानेले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँबरलाई संसदीय समितिमा ल्याएर गृहमन्त्री लामिछानेविरुद्ध एउटा पनि उजुरी नपरेको, कहीँकतै अनुसन्धान पनि भइनरहेको भनी बोल्न लगाएको उनको दाबी छ । महानिरीक्षक कुँबरले गृहमन्त्री लामिछानेविरुद्ध रुपन्देहीको प्रहरीले छानविन गरिरहेको, सीआईबीको टोलीले छानविन गरिरहेकोलगायतका तथ्य ढाँटेको उनले आरोप लगाए ।
‘प्रहरीको महानिरीक्षकलाई संसदीय समितिमा ल्याएर यसको बारेमा एउटा पनि अनुसन्धान भएको छैन, कहीँकतै जाहेरी पनि परेको छैन, कुनै संलग्नता छैन भन्ने कुराको जिम्मा लिएर प्रहरी महानिरीक्षकलाई बोल्न लगाउनुभयो । जबकी रुपन्देहीको प्रहरीले अनुसन्धान गरिरहेको, अनुसन्धान गरिरहेको टोलीले प्रतिवेदन बुझाएको, त्यो प्रतिवेदन बुझाउँदै गर्दा, प्रतिवेदन तयार गर्दैगर्दा प्रहरीमाथि पूर्ण दवाब दिएर प्रभावित गरिएको छ,’– कांग्रेस पदाधिकारी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने ।
गृहमन्त्री लामिछानेले राज्यका निकायहरुलाई प्रभावित गर्दाखेरी पनि लुकाउन नसक्ने भएर अभियोजन गर्दाखेरी नाम उल्लेख गरेर अभियोजन गरिएको उनको भनाइ छ । साथै, रुपन्देहीमा सीआईबीको टोलीले गरेको अनुसन्धान प्रतिवेदन लुकाइएको उनको दाबी छ । उनले आफूहरुसँग रहेका प्रमाणहरु चुहिएर बाहिर आएको दाबी गरे । ‘सीआईबीको रिपोर्ट गृह मन्त्रालयले लुकाएको हो नि । यो त चुहिएर बाहिर आएको हो । हाम्रो दाबी के छ भने त्यस्तै रिपोर्ट पोखराको प्रहरीसँग पनि छ । त्यसलाई लुकाइएको छ,’– उनले भने ।
यसरी कांग्रेस महामन्त्री थापाले गृहमन्त्री लामिछानेसँग जोडेर प्रहरी महानिरीक्षक कुबँरदेखि महान्यायाधिवक्ता पोखरेलमाथि नैतिकताको प्रश्न तेर्याएका छन् । महान्यायाधिवक्ता पोखरेल र प्रहरी महानिरीक्षक कुबँर गृहमन्त्री लामिछानेको झुकाव, दवाब र प्रभावमा परेको उनको आरोप छ ।