Logo

रवि लामिछानेले अचम्मको पसल खोल्नुभएको छ, पुराना पार्टीका काम नलाग्ने मान्छे भर्ती गरेर नयाँ भन्दिनुपर्नेः ज्ञानबहादुर शाही



काठमाडौं, २९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले संसदीय व्यवस्थाले मुलुकलाई जर्जर अवस्थामा पुर्याएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद् झगडा गर्ने थलो बनेको बताए । साथै, संघदेखि प्रदेशसम्मका सरकारहरु संसदीय गणितकै कारण धरापमा परेको उनले बताए । नेता शाहीले अस्थिरताको कारक संसदीय व्यवस्थालाई आफूहरुले काँध नहाल्ने बताए । ‘प्रदेशमा को मुख्यमन्त्री हो भन्न थाहा पनि छैन । हिजो राति एउटा थियो, आज विहान अर्को, दिउँसो अर्को । यस्तो अराजकता, अस्थिरता, अझ यही व्यवस्था ठीक हो भनेर हामीले काँध हाल्नुपर्ने ?’ उनले प्रश्न गरे ।

वर्तमान व्यवस्था अहिलेका नेताहरुका लागि ठीक रहेको उनको भनाइ छ । वर्तमान व्यवस्थाकै कारण वडा अध्यक्ष हुन पनि योग्य नरहेका व्यक्तिहरु प्रदेशको सांसद् भएर मन्त्री बनिरहेको उनले टिप्पणी गरे । वर्तमान व्यवस्था केही दल र तिनीहरुको नेताहरुको सिन्डिकेट बनेको उनको भनाइ छ ।
साथै, उनले सरकारी विद्यालयमै बढेर आएका नेताहरुले आफ्नै छोरा छोरीहरुको भविष्य नेपालमा नदेखेर विदेशतिर पठाइरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काम नगरेर हल्लामात्रै गरेर हिँडेको उनले बताए । नेता शाहीले निर्मला हत्या प्रकरण ७२ घण्टाभित्र पत्ता लगाउँछु् भन्ने गृहमन्त्री लामिछानेले ७२ दिन बित्नै लाग्दा पनि कुनै चासो नदेखाएको भन्दै उनले आपत्ति जनाए ।

‘गृहमन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु–कलम तपाईँको हातमा छ, प्रहरी प्रशासन तपाईँको हातमा छ । ठूला–ठूला फाइल ड्यामड्याम खोलौं । झ्यापझ्याप पक्राउ गरेर जेल हालिहालौं । गृहमन्त्रीको साथमा हामी हुन्छौं । हल्लामात्रै गर्ने र काम नगर्ने हो भने हामी साथ दिन सक्दैनौं,’– उनले भने ।
गृहमन्त्री लामिछानेले मिडियामा भजाउने, दुई चार जना युट्युवरलाई लिएरमात्रै हिँडेको उनले टिप्पणी गरे । नेता शाहीले गृहमन्त्रीले नयाँको नाममा पुराना दलका कामै नलाग्ने मान्छे ल्याएर पार्टी चलाएको बताए । ‘गृहमन्त्रीले फेरि एउटा अचम्मको पसल खोल्नुभएको छ,’ उनले भने, ‘पुराना पार्टीमा काम नलागेका मान्छे ल्याएर भर्ती गर्ने अनि तिनलाई नयाँ भन्दिनुपर्ने हामीले ।’

गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई त्यतिखेरको सरकारले भगायो भनेर अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जेल हाल्न सुझाव दिए । त्यतिखेरको सरकारले अपराधी भगाएको हो भने प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

साथै, सिधा कुरा टिमले बाहिर ल्याएको डार्क फाइल प्रकरणमा मुछिएकाहरुलाई समाएर जेल हाल्न र छानविन गर्न उनले गृहमन्त्री लामिछानेलाई सुझाव दिए । ‘यो डार्क फाइलमा गृहमन्त्री किन हेरेर बसेको भनेको ?’ प्रश्न गर्दैै उनले भने, ‘समाउने छानविन गर्ने, युट्युवमा फन्डाबाजी नगर्ने । थुनेर राख्ने । गृहमन्त्रीले पक्रिन पाउने र थुन्न पाउने अधिकार छ त ?’

कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताहरुले नै रास्वपा र ज्ञानेन्द्र शाहीजस्ता मानिसहरुको पक्षमा भोट दिएर पठाएको स्मरण गराउँदै उनले पुराना दलकै नेताहरुलाई टाउकोमा राखेर हिँड्दा जनताले दिएको मतको अपमान हुने बताए । रास्वपा सत्ता छाडेर र संसद्मा एक ठाउँमा उभिन उनले आग्रह गरे । रविले प्रचण्ड छाड्ने नसकेको उनको टिप्पणी छ । ‘उहाँको के हो कुन्नी ? प्रचण्डजीलाई छोड्नै सक्नुहुन्न । के माया पिरती छ कुन्नी ? जता प्रचण्ड त्यतै रवि लामिछाने,’– उनले भने ।

साथै, पशुपतिमा लास जलाउने मेसिन किन्दा पूर्वमन्त्री सुदन किरातीले भ्रष्टाचार गरेको उनको आरोप छ । उनले उक्त प्रकरण छानविन गर्न गृहमन्त्री लामिछानेलाई सुझाव दिए । ‘पशुपति विकास कोषले लास जलाउने चार वटा मेसिन किन्छ । झण्डै एक बराबर १० करोड घोटला भएको छ,’– उनले भने ।

गगन र रवि दुवैले राजनीति छाड्दा राम्रो हुने उनको सुझाव छ । रवि लामिछानेले नै गगन थापालाई चुनाव जिताएको उनको भनाइ छ । संसद्बाट प्रधानमन्त्री र मन्त्री बन्ने परम्पराले देश अराजकतातिर गएको उनको निश्कर्ष छ । देशको कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित गराएर चुन्न आवश्यक रहेको उनले बताए । ‘अब संसदीय व्यवस्था काम लाग्दैन । संसद बन्ने, तर संसद्बाट मन्त्री र प्रधानमन्त्री नबन्ने । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चुनौं । जनताले भोट हालेर पाँच वर्ष फिक्स सरकार चलाउँछन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्