काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् । उनीहरुबीच छलफल जारी छ ।
महामन्त्री थापाले सहकारी ठगी प्रकररणमा संसदीय छानबिन समिति गठनको माग कांग्रेसको बटम लाइन भएकाले सोही विषयमा छलफल गर्न बालुवाटार पुगेको बताएका छन् । उपप्रधामन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण आधारभूत र अनिवार्य माग बनिसकेकाले संसदीय छानबिन समिति मार्फत त्यसको सम्बोधन हुनु पर्नेमा महामन्त्री थापाले जोड दिए ।
सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । यता नेपाली कांग्रेसले भने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।