Logo

रविलाई कांग्रेस उपसभापतिको जवाफः ‘लोकतन्त्र भनेको लुट र ठगतन्त्र होईन’ (भिडिओसहित)



काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले सहकारी ठगीको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्को रोस्टममा गएर बोल्ने अधिकार नरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता गु्रुङले सदनमा स्पष्टीकरण दिने नभएर नैतिकताको आधारमा राजीनामा दिन आवश्यक रहेको बताए । उनले ‘लोकतन्त्र भनेको लुटतन्त्र र ठगतन्त्र होईन’ भन्दै चेतावनीसमेत दिए ।

‘लोकतन्त्र भनेको लुटतन्त्र होईन, ठगतन्त्र पनि होईन । ठगीको आरोप लागेको मान्छेले रोस्टममा गएर बोल्ने कुरा होईन । नैतिकताको आधारमा पहिला राजीनामा दिनुपथ्र्यो । नैतिकता त त्यस्तो मान्छेसँग कहाँ खोजौं ? जसलाई त्यत्रो ठगीको आरोप लागेको छ, तैपनि अरुलाई गाली गरिराखेको अवस्था छ,’– उनले भने ।

साथै, सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईलाई पहिलाका सरकारले भगाएको भनेर रवि लामिछानेले दिएको अभिव्यक्तिको उनले खण्डण गरे । रविले पहिला–पहिला ठूलो छाती भएको, भगवान भनेर जिबीको गुणगान गाउने गरेको स्मरण गराउँदै उपसभापति गुरुङले उनी रविकै छत्रछायामा रहेको आशंका व्यक्त गरे । ‘आज पनि मैले के भनेको सुने भने, जीवी राईलाई पहिलेको सरकारले भगाएको भनिएको रहेछ ।’ उनले भने, ‘जीवी राई भगवान हुन्, यति ठूलो छाती भएको मान्छे, यति ठूलो मुटु भएको मान्छे भनेर त उनले नै बोलेको सुनेको थिए पहिला । उनका भगवान, ठूलो मुटु भएको मान्छे, आकाश र पातलबाट मै खोज्छु भनेको पनि सुन्छु कहिलेकाहीँ । यस्ता मान्छेको के कुरा सुन्नु ?’

साथै, कांग्रेस राणा, पञ्चायत र ज्ञानेन्द्रको शासनकालमा समेत नडराएको र नझुकेको बताउँदै उनले रास्वपासँग झुक्न पर्ने आवश्यकत्ता नरहेको बताए । उनले रास्वपालाई ‘झुसे बारुलो’ को संज्ञा दिए । गत वैशाख २८ गतेको संसद् बैठकमा सभामुख देवराज घिमिरेले पार्टीको कार्यकर्ताजस्तो बनेर व्यबहार गरेको उनको भनाइ छ । पहिला कांग्रेसका सांसद्ले प्रश्न उठाउने, त्यसपछि गृहमन्त्री लामिछानेले जवाफ दिने र चित्त बुझे नबुझेको कुरा फेरि कांग्रेसका सांसदले सदनमा बोल्ने भनेर कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको भएपनि सभामुखले त्यसलाई मोडेर कार्यसूचीतर्फ अगाडि बढ्दा समस्या आएको बताए ।

‘यत्रो पश्न उठिसकेको मान्छे, सभामुखकोमा बोल्न पाऊँ भनेर निवेदन नै हालेको रहेछ । ठीकै छ, सुनौं भनेर हिजोमात्रै हामीले निर्णय गरेका थियौं पहिला कांग्रेसले कुरा उठाउने, त्यसपछि रविलाई हामीले सुन्ने, फेरि हामी चित्त बुझे वा नबुझेको कुरा राख्छौं भनेर प्रमुख सचेतक मार्फत हामीले पठायौं । अब रवि बोल्ने भयो भनेपछि सत्ता पक्षका केही नेताहरुलाई ज्वरो आएछ । उनीहरुले नै भाड्ने काम गरे । जबरजस्त यसलाई कार्यसूचीमा प्रवेश गराइयो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्