काठमाडौं,३० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् ।
एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो ।
सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए । यस विषयमा राष्ट्रपति स्वयम्ले बोलाएर उनीसँग सोधपुछ गरेका थिए । नेपालको जवाफबाट राष्ट्रपति सन्तुष्ट भएका थिएनन् ।
निर्णयबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै आलोचना भएपछि उनले राजीनामा दिएका थिए ।
सो राजीनामा राष्ट्रपति पौडेलले आइतबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
“राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालले दिनुभएको राजिनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
०७७ जेठ ५ गते सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भुभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । संविधान संशोधन गरेर नयाँ नक्सा समेटेको सरकारले यसअघि नै चुच्चे नक्सा सहितको सिक्का पैसासमेत निकालिसकेको छ ।
नेपाल राष्ट्र वैकका पूर्व गभर्नरसमेत रहेका नेपालले दिएको अभिव्यक्रिबारे सदनमा पनि कुरा उठेको थियो । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सत्तारुढ दल नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले कडारुपमा प्रश्न उठाएका थिए । नेपालको नक्सा नेपालको भूभाग भएको नक्सा नेपालले पैसामा छाप्दा तपाईको टाउको किन दुखेको भन्दै दाहालले प्रश्न गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उक्त अभिव्यक्तिको कडारुपमा निन्दा गरेका थिए ।