काठमाडौं, ३० वैशाख । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले गिरीबन्धु टि इस्टेट प्रकरणमा १० अर्बभन्दा धेरै राज्यको सम्पत्ति जागाइदिएको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालको प्रशंसा गरेका छन् । झापास्थित गिरीबन्धु चिया बगानको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने गरी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध अधिवक्ता अर्याल रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए । उनको रिटमाथि अन्तिम फैसला गर्दै सर्वोच्चले तत्कालीन सकारको निर्णय बदर गरिदिएको थियो ।
अधिवक्ता अर्याललाई धन्यवाद दिँदै बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः
एउटा मान्छेको इमानदारीताले के सम्म गर्न सक्छ भन्ने उदाहरण हो यो केस। झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट) अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने तत्कालीन केपी ओली सरकारको निर्णयलाई सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको छ।
अब त्यहाँ कि चिया बगान हुन्छ, कि त्यो जग्गा सरकारको हुन्छ । यो जग्गा अहिले को अवस्थामा १० अरबभन्दा धेरै मुल्यको रहेको छ । अब तत्कालीन सरकारलाई कारबाही को भागिदार बनाउनु पर्छ यो सरकारले । जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृया बाट बैना फिर्तामा जानू होला तपाईं हरुको जग्गा प्राप्तीको बाटो सकिएको छ ।
देशको अरबौको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल हाम्रो कानुनी सल्लाहकार ओम प्रकाश अर्याल सरलाई धेरै–धेरै धन्यवाद । धन्न तपाइँजस्तो कोहि हुनु हुन्छ र सरकारी सम्पत्ति बचेको छ ।