काठमाडौं । गत वैशाख ६ गते नियुक्त भएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । संविधान त नियुक्त भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने प्रावधान छ । उक्त प्रावधानअनुसार सोडारीले जेठ ५ गतेसम्म विश्वासको मत लिनुपर्ने हुन्छ ।
मुख्यमन्त्री सोडारीले जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् । उनले आज प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गर्ने तयारी गरेका छ्न । सोडारीले यसअघि दुईपटक विश्वासको मत लिने प्रयास गरेपछि सत्तारुढ दल नेकपा एमालेले नामनेपछि रोकिएका थिए ।
यसैबीच विश्वासको मत लिने तयारी सोडारीले गरेपछि एमाले भने अझै अनिर्णित छ । उस्ले सोडारीविरुद्ध सर्वोच्चमा दायर रिट पहिला टुंगिनुपर्ने बताउँदै आएको छ । सरकार विस्तार गर्न र बजेटको तयारीका लागि भन्दै सोडारीले जतिसक्दो छिटो विश्वासको मत लिने तयारी गरेका छन् ।
एकीकृत समाजवादीको संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री सोडारीले वैशाख ६ गते एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता)पक्ष र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
तर उनको दाबी असंवैधानिक रहेको भन्दै नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)का लक्ष्मण किशोर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सोसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ ।
सर्वोच्चका न्यायाधीशद्धय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले सो रिट पूर्ण इजलासमा पेश गर्न आदेश दिएको थियो ।